काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति गलत भएकाले त्यसलाई स्पष्ट पार्नुपर्ने बताएकी छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद् अवरोधको जिम्मेवारी विपक्षी दलमाथि थोपर्न नमिल्ने बताउँदै सदन सत्ता पक्षकै कारण प्रभावित भएको आरोप लगाइन्।
ओलीले संसद् अवरोध हटाउन दुईवटा मात्र विकल्प रहेको बताइन्। प्रधानमन्त्रीको भनाइमा सत्ता पक्ष सहमत भए नेपालले भारतको भूमि मिचेको भन्ने विषयमा हस्ताक्षर अभियान सुरु गर्नुपर्ने उनको भनाइ थियो। “यदि प्रधानमन्त्रीले भनेको कुरा सही हो भने सत्ता पक्षका सांसदहरूले त्यसमा हस्ताक्षर गरेर आफ्नो समर्थन जनाउनुपर्छ। त्यसपछि हामी प्रतिपक्षले पनि हस्ताक्षर गरेर संसद् अवरोध हटाउन तयार छौँ,” उनले भनिन्।
उनले संसद् सुचारु गर्ने अर्को उपाय प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति स्पष्ट पार्नु रहेको बताउँदै व्याख्यामार्फत आफ्नो भनाइ सच्याउन आग्रह गरिन्। “प्रधानमन्त्री बालेन शाहले दिएको वक्तव्य स्पष्ट पार्नुपर्छ। उहाँले आफ्नो भनाइ सच्याउनुभयो भने संसद् अवरोध हट्ने वातावरण बन्छ,” ओलीले भनिन्।
कर्मचारीले पठाएको एउटा सन्देशलाई राष्ट्रिय मुद्दाका रूपमा प्रस्तुत गरिएको भन्दै उनले आपत्ति जनाइन्। गणतन्त्रका प्रधानमन्त्रीको अभिव्यक्तिपछि आफ्नै देशका नागरिकलाई देशविरुद्ध उभ्याउने अवस्था सिर्जना भएको आरोप समेत उनले लगाइन्।
प्रधानमन्त्रीको विवादित अभिव्यक्तिलाई लिएर संसद्मा जारी गतिरोध अन्त्य गर्न सरकार र सत्ता पक्षले जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

