काठमाडौं, २६ जेठ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङलाई तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रतिनिधिसभा सदस्य महावीर पुनलाई दिइने भएको छ।
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम हुदै छ , विभिन्न प्रशासनिक तथा प्राविधिक कारणले शपथ कार्यक्रम निर्धारित समयभन्दा झण्डै डेढ घण्टा ढिला गरी सुरु हुने तयारी गरिएको छ।
राष्ट्रपति कार्यालयमा आयोजना हुने शपथ समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, उच्चपदस्थ सरकारी अधिकारी, राजनीतिक दलका नेता तथा अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ।
गृह मन्त्रालय देशको आन्तरिक सुरक्षा, शान्ति सुव्यवस्था र प्रशासनसँग प्रत्यक्ष सम्बन्धित मन्त्रालयका रूपमा हेरिन्छ। त्यस्तै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा नियुक्त हुन लागेका महावीर पुनलाई अनुसन्धान, नवप्रवर्तन र प्रविधिको विकासमार्फत देशको समृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
मन्त्रिपरिषद् विस्तारसँगै सरकारले आफ्नो कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने र रिक्त रहेका मन्त्रालयहरूलाई पूर्णता दिने लक्ष्य राखेको छ। आजको शपथसँगै नयाँ मन्त्रीहरूले औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्।

