गुनासो चौतारी , खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको विरोध, खाना नपाएपछि आन्दोलन
काठमाडौं, असार २३ सरकारले खानाको व्यवस्था नगरेपछि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएका सुकुमवासीहरू विरोधमा उत्रिएका छन्।
होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीका अनुसार उनीहरूले सोमबार बेलुकादेखि खाना पाएका छैनन्। खाना अभाव भएपछि रातभर भोकै बस्नुपरेको र बाध्य भएर मंगलबार बिहानदेखि विरोध प्रदर्शन गर्न थालेको उनीहरूको भनाइ छ।
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङ ले आफूले सोमबार बिहानसम्म खाना पाएको भए पनि त्यसपछि वितरण रोकिएको जानकारी दिए। उनले भने, “हिजो बिहान खाना खाएर निस्केको हुँ। साँझदेखि खाना नदिएको रहेछ। अहिले कोठा खोज्दै हिंडिरहेको छु।”
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ। तर, सुकुमवासीहरू सरकारको व्यवस्थापनप्रति असन्तुष्ट छन्। उनीहरू भन्छन्, “सरकार आफैले बस्न दिएको अवधिसम्म पनि भोकै राखियो। यसको सबैभन्दा ठूलो असर बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरूमा परेको छ। धेरैले खाना नखाएकै कारण नियमित सेवन गर्नुपर्ने औषधिसमेत खान पाएका छैनन्।”
सरकारले गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएर प्रभावित परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको थियो। खरिपाटीस्थित होल्डिङ सेन्टरमा हाल ९९ परिवारका २०७ जना बसोबास गरिरहेका छन्।
सुकुमवासीहरूको विरोध चर्किएपछि सम्भावित अप्रिय अवस्था रोक्न सुरक्षाकर्मी परिचालन गरिएको छ।
मानवीय संवेदनासँग जोडिएको यो विषयमा सम्बन्धित निकायले तत्काल आवश्यक खाद्यान्न, स्वास्थ्य सेवा र वैकल्पिक व्यवस्थापन सुनिश्चित गर्नुपर्ने माग स्थानीयवासी तथा अधिकारकर्मीहरूले गरेका छन्।

