सबैलाई पठाउनु होला

प्रधानमन्त्री कार्यालयमा सुशासन मार्गचित्र तयार गर्ने जिम्मेवारी सम्हालेका कार्कीलाई मन्त्रिपरिषद्को निर्णयबाट मुख्यसचिव नियुक्त; वरीयतामा अगाडि रहेका धेरै सचिवलाई पछि पार्दै नियुक्ति।

गुनासो चौतारी  काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपालको प्रशासनिक सेवाको सर्वोच्च पद मुख्यसचिवमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार कार्की हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए। वरीयताक्रममा पछाडि रहे पनि प्रधानमन्त्री वालेन्द्र शाहको विश्वास जित्दै उनी मुख्यसचिव नियुक्त भएका हुन्।

भोजपुरका कार्की २०५३ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए। उनले स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, प्रदेश सचिव, कायममुकायम प्रमुख सचिव, ल्हासाका लागि महावाणिज्यदूत तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।

२०८१ भदौ २० गते सचिवमा बढुवा भएका कार्कीलाई सचिव बनेको करिब दुई वर्षमै मुख्यसचिवको जिम्मेवारी दिइएको हो। २०२७ पुस २५ मा जन्मिएका उनी ५८ वर्षे उमेरहदका कारण २०८५ पुस २५ गते अवकाशमा जानेछन्।

मुख्यसचिव सुमनराज अर्यालको अवकाशपछि वरीयताअनुसार अन्य सचिवहरूको सम्भावना रहे पनि प्रधानमन्त्रीको विशेष प्राथमिकतामा कार्की नियुक्त भएका हुन्। पछिल्लो समय उनले प्रधानमन्त्री कार्यालयमा सुशासन मार्गचित्र तयार गर्ने अध्ययन समितिको संयोजकका रूपमा काम गरेका थिए। सोही प्रतिवेदनका आधारमा सरकारले १०० दिने शासकीय सुधार कार्यसूची कार्यान्वयन गरिरहेको छ।

यसैबीच मन्त्रिपरिषद्ले काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने, गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने तथा शिक्षा, कारागार, मानव अधिकार र भ्रष्टाचार नियन्त्रणसम्बन्धी विभिन्न नियमावली तथा रणनीतिक योजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com