अविरल वर्षापछि पहिरो र लेदो बगेपछि यातायात ठप्प, बीच बाटोमा रोकिएका एम्बुलेन्ससहितका सवारी उद्धारको प्रयास जारी
काठमाडौं । अविरल वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकमा माथिबाट लेदोसमेत बगेपछि यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
सोमबार साँझ जारी सूचनामा काठमाडौं उपत्यकाबाट बाहिरिने तथा रुपन्देही, नवलपरासीसहित पश्चिम क्षेत्रबाट काठमाडौंतर्फ आउने यात्रुलाई चितवनभन्दा अगाडि नबढ्न अनुरोध गरिएको छ।
प्रशासनका अनुसार निरन्तर वर्षाका कारण सडकमा पहिरो हटाउने कार्य जारी रहे पनि थप पहिरो खस्ने जोखिम उच्च भएकाले नयाँ सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बीच बाटोमा रोकिएका एम्बुलेन्स तथा अन्य सवारीसाधनलाई पहिरो पन्छाएर सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने प्रयास भइरहेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले मौसममा सुधार नआएसम्म र सडक सुरक्षित नभएसम्म अनावश्यक यात्रा नगर्न आग्रह गर्दै आपत्कालीन अवस्थामा नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (११४४), जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (१२३४) वा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न अनुरोध गरेको छ।

