११ साउन, धनगढी | गुनासो चौतारी
धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका ७ निवासी ३५ वर्षीया ज्योति चौधरी रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। आगलागीपछि आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याएका थिए। चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।
गम्भीर अवस्थाका कारण उनलाई थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो। तर आफन्तले उनलाई काठमाडौं लैजाने क्रममा आइतबार राति बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ। घटनाबारे सोमबार बिहान करिब ७ बजे मात्रै आफन्तले प्रहरीलाई जानकारी गराएका थिए।
हाल उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

