काठमाडौं, साउन १४ । न्यायको आशामा देशका विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका लघुवित्त पीडितहरूले साउने झरीको रात माइतीघर मण्डलाको सडक किनारमै बिताएका छन्। सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सरकारलाई दबाब दिन उनीहरू मंगलबारदेखि आन्दोलनमा उत्रिएका हुन्।
हाल ४२ जना पीडित सामूहिक आमरण अनसनमा छन्। करिब डेढ सय आन्दोलनकारीमध्ये अनसनमा नबसेकाहरूले पनि सडकमै खाना खाएर रात बिताए। त्रिपाल र प्लास्टिकको सहारामा वर्षाबाट जोगिन खोजे पनि धेरैले त्यो सुविधा समेत पाएनन्। कतिपय पीडित पसलका सटरअगाडि पेटीमै कुक्रुक्क परेर वर्षामा रुझ्दै रात काट्न बाध्य भए।
सर्वोच्च अदालतले सरकार, नेपाल राष्ट्र बैंक र नेपाल लघुवित्त बैंकर्स संघलाई लघुवित्त पीडितसँग भएको सहमति कार्यान्वयन गर्न परमादेश दिइसकेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाएका छन्।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीसहित देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू आमरण अनसनमा सहभागी छन्। आन्दोलन लामो समयसम्म चल्न सक्ने अनुमान गर्दै पीडितहरू चामल, ग्यास सिलिन्डर, सिरक डस्नालगायत दैनिक आवश्यक सामग्री बोकेर माइतीघर पुगेका छन्।
संघर्ष समितिका उपाध्यक्ष मिनप्रसाद चौलागाईंका अनुसार सरकारले पीडितका समस्या समाधान नगरेसम्म आन्दोलन रोकिने छैन।
न्यायको खोजीमा सडकमा रात बिताइरहेका यी नागरिकहरूको प्रश्न अझै उस्तै छ सर्वोच्च अदालतको आदेशसमेत कार्यान्वयन नहुने हो भने सर्वसाधारणले न्याय कसबाट पाउने? पीडितको आवाज न राज्यले सुनेको छ, न उनीहरूको पीडा देखेको छ।

