काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ स्थित एक सुधार केन्द्रमा राखिएका करिब ४४ वर्षीय उमेश खड्गीको शंकास्पद मृत्यु भएको छ।
परिवारका सदस्यका अनुसार मदिराको लत छुटाउन खड्गीलाई तीन दिनअघि बिरुवामा सञ्चालित ‘उत्साहित सुधार केन्द्र’ मा राखिएको थियो। आइतबार बिहान सुधार केन्द्रका सञ्चालकले फोन गरी खड्गीको मृत्यु भएको जानकारी परिवारलाई दिएका थिए।
सुधार केन्द्रमा बेहोस भएपछि खड्गीलाई मध्यपुर अस्पताल लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको जानकारी सञ्चालकले प्रहरीलाई दिएका छन्। घटनाको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्टपछि थप खुल्ने प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान गर्न प्रहरीले सुधार केन्द्रका अध्यक्ष गौतम श्रेष्ठसहित पाँच जनालाई नियन्त्रणमा लिएको भक्तपुरका प्रहरी गुनासो चौतारीलाई जानकारी दिएको छ।
मध्यपुर अस्पतालमा मृत्यु भएका खड्गीको शव पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ।
खड्गीको मृत्युको खबरपछि आक्रोशित परिवार तथा आफन्तले सुधार केन्द्रमा तोडफोडको प्रयास गरेका थिए। सम्भावित तनावलाई ध्यानमा राख्दै अहिले सुधार केन्द्र परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको भक्तपुरका प्रहरी अधिकारीले जानकारी दिएका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

