सबैलाई पठाउनु होला

काठमाडौं । सरकारले बन्द अवस्थामा रहेका उद्योग पुनः सञ्चालन गर्ने प्रयास गरिरहँदा सञ्चालनमा रहेका हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगसमेत बन्द हुने चरणमा पुग्नुको कारण गम्भीर रूपमा खोज्नुपर्ने आवश्यकता रहेको पूर्वनेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।

घिसिङले सरकारी स्वामित्वका उद्योग निरन्तर घाटामा जानु स्वाभाविक हो भन्ने मान्यता सही नभएको भन्दै उद्योग सञ्चालनमा नेतृत्व, व्यवस्थापन, उत्पादन क्षमता र व्यावसायिक कार्यशैली महत्वपूर्ण हुने बताएका छन्।

उनले निजी क्षेत्रले खानी खरिद गरी अर्बौं रुपैयाँ लगानी गरेर स्थापना गरेका सिमेन्ट उद्योग नाफामा सञ्चालन भइरहेका अवस्थामा राज्यको स्वामित्वमा रहेका, राम्रो चुनढुंगा खानी तथा ठूलो पूर्वाधार भएका हेटौंडा र उदयपुर सिमेन्ट उद्योग घाटामा जानु र बन्द हुने अवस्थामा पुग्नुको कारण गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने बताए।

“सरकारले बन्द भएका उद्योग खोल्दै गर्दा चलिरहेका हेटौंडा र उदयपुर सिमेन्ट किन बन्द हुने चरणमा पुगे भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ,” घिसिङको भनाइ छ, “यसको वास्तविक कारण पत्ता लगाएर समाधान खोजिएन भने उद्योग खोलेर मात्रै समस्या समाधान हुँदैन।”

घिसिङले केही वर्षअघि प्रसारण लाइनको अभावमा समेत चिनियाँ लगानीको ह्वासिन सिमेन्टले डिजेल जेनेरेटर प्रयोग गरेर उद्योग सञ्चालन गरेको उदाहरण प्रस्तुत गर्दै त्यसबेला पनि नेपाली उपभोक्तालाई तुलनात्मक रूपमा सस्तो मूल्यमा सिमेन्ट उपलब्ध गराउन सकेको स्मरण गरे।

उनका अनुसार विद्युत् प्रसारण लाइन पुगेपछि ह्वासिन सिमेन्टले डिजेलको सट्टा विद्युत् प्रयोग गरेर उत्पादन गर्न थालेको छ। यसले उद्योगको सञ्चालन लागत घटाउन विद्युत्, प्रविधि र व्यवस्थापनको प्रभावकारी प्रयोग कति महत्वपूर्ण हुन्छ भन्ने देखाउँछ।

घिसिङले सरकारी संस्था सधैं घाटामा चल्छन् भन्ने तर्कलाई नेपाल विद्युत् प्राधिकरणले नै गलत सावित गरेको दाबी गरे। स्थापनादेखि लामो समय घाटामा रहेको प्राधिकरण पछिल्लो दशकमा लगातार अर्बौं रुपैयाँ नाफा कमाउने संस्थाका रूपमा स्थापित भएको उनको भनाइ छ।

“सरकारी संस्था सधैं घाटामा चल्छ भन्ने कुरा नेपाल विद्युत् प्राधिकरणले गलत सावित गरिसकेको छ,” उनले भने, “महशुलसमेत करिब २५ प्रतिशत घटाएर पनि प्राधिकरणले नाफा कमाउन सकेको छ। यसबाट नेतृत्व र व्यवस्थापन कति महत्वपूर्ण हुन्छ भन्ने स्पष्ट हुन्छ।”

घिसिङले सरकारले बन्द उद्योग पुनः सञ्चालनमा ल्याउने नीतिसँगै सञ्चालनमा रहेका उद्योगलाई समेत बन्द हुनबाट जोगाउने दीर्घकालीन रणनीति बनाउनुपर्नेमा जोड दिए।

उनका अनुसार उद्योग सञ्चालनका लागि केवल सरकारी बजेट वा लगानी पर्याप्त हुँदैन। दक्ष व्यवस्थापन, जिम्मेवार नेतृत्व, उत्पादन लागत नियन्त्रण, बजार व्यवस्थापन, गुणस्तर सुधार, ऊर्जा व्यवस्थापन र व्यावसायिक निर्णय क्षमता आवश्यक हुन्छ।

“सरकारको ध्यान बन्द उद्योग खोल्नेमा मात्रै केन्द्रित हुनुहुँदैन,” घिसिङले भने, “चलेका उद्योग बन्द हुन नदिने, बन्द भएका उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउने र उद्योगलाई नाफामा लैजाने स्पष्ट योजना आवश्यक छ।”

उनले राज्यको स्वामित्वमा रहेका उद्योगलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै व्यावसायिक ढंगले सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्ने बताए।

नेपालमा ठूलो सम्भावना भएका सरकारी उद्योग कमजोर व्यवस्थापनका कारण धराशायी हुने र त्यसपछि पुनः सञ्चालनका नाममा राज्यको ठूलो स्रोत खर्च हुने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ।

घिसिङले हेटौंडा र उदयपुर सिमेन्ट उद्योगको वर्तमान अवस्था केवल दुईवटा उद्योगको समस्या नभई नेपालको सार्वजनिक उद्योग सञ्चालन प्रणालीमाथिकै प्रश्न भएकाले सरकारले यसको गहिरो अध्ययन गरी दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com