काठमाडौँ । सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने तथा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने र विपत्तिमा खुसी व्यक्त गर्ने खालको भिडियो सामग्री सामाजिक सञ्जालमार्फत प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका–१२, बलम्बु बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै रहेका छन्।

भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयलाई लिएर विभिन्न जातजातिलाई लक्षित गर्दै अपमानजनक तथा सामाजिक सद्भावमा असर पार्ने अभिव्यक्तिसहितको भिडियो तयार गरी सामाजिक सञ्जाल फेसबुकको रिलमार्फत प्रसारण गरिएको सम्बन्धमा ब्यूरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान गरेको जनाएको छ।

अनुसन्धानका क्रममा उक्त भिडियो सामग्री प्रसारणमा मडैको संलग्नता खुलेपछि साइबर ब्यूरोबाट खटिएको टोलीले उनलाई २०८३ भदौ २० गते पक्राउ गरेको हो।

पक्राउ परेका मडैविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

बाढी तथा प्राकृतिक विपत्तिजस्ता संवेदनशील घटनाका विषयमा जातजाति, समुदाय वा समूहलाई लक्षित गरी घृणा, अपमान वा सामाजिक सद्भावमा खलल पुग्ने सामग्री प्रसारण गर्दा कानुनी कारबाही हुन सक्ने भएकाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार र संवेदनशील बन्न प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com