काठमाडौं । देशभर देखिएको ग्यास अभाव तथा आपूर्ति समस्याको विरोधमा अखिल क्रान्तिकारीले काठमाडौंको रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडि दाउरा बालेर भात पकाउँदै सरकारविरुद्ध प्रदर्शन गरेको छ।

ग्यासको सहज आपूर्ति हुन नसक्दा सर्वसाधारणले लामो समयसम्म लाइन बस्नुपरेको र दैनिक उपभोगमा समस्या भोग्नुपरेको भन्दै अखिल क्रान्तिकारीले सरकारको आपूर्ति व्यवस्थापनप्रति विरोध जनाएको हो।

प्रदर्शनकारीहरूले ग्यासको अभावले नागरिकको दैनिकी प्रभावित भइरहँदा पनि सरकारले समस्या समाधान गर्न प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए। सरकारको ध्यानाकर्षण गराउन उनीहरूले सडकमा दाउरा बालेर भात पकाएका थिए।

प्रदर्शनका क्रममा सहभागीहरूले ग्यासको नियमित तथा सहज आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न तथा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

ग्यास अभावका कारण पछिल्लो समय काठमाडौंलगायत विभिन्न क्षेत्रमा उपभोक्ताले लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था आएको भन्दै प्रदर्शनकारीहरूले सरकारको आपूर्ति प्रणालीप्रति प्रश्न उठाएका छन्।

अखिल क्रान्तिकारीले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन नसके जनताको दैनिक जीवनसँग जोडिएको यो विषयलाई लिएर थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com