२५ भदौ, काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन्।
मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूलाई ‘पाता फर्काउनुपर्ने’ भन्दै दिएको विवादास्पद अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भएको थियो। उक्त अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए।
पछिल्लो समय देशभर देखिएको ग्यास अभाव, लामो समयसम्म उपभोक्ताले लाइन बस्नुपर्ने अवस्था र सहज रूपमा ग्यास उपलब्ध हुन नसकेको विषयमा उद्योग मन्त्रालयमाथि गम्भीर प्रश्न उठ्दै आएको थियो। नागरिकले दैनिक उपभोगको अत्यावश्यक वस्तुका लागि समेत सास्ती व्यहोर्नुपरेको अवस्थामा मन्त्रालयले समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको थियो।
यही समयमा ग्यास उद्योगीहरूमाथि आक्रामक अभिव्यक्ति दिएपछि मन्त्री यादव थप विवादमा तानिएकी थिइन्। समस्या समाधानका लागि प्रभावकारी पहल गर्नुपर्ने बेला उद्योगीलाई धम्कीपूर्ण शैलीमा प्रस्तुत भएको भन्दै उनको अभिव्यक्तिको आलोचना भएको थियो।
ग्यास आपूर्ति सहज बनाउन सरकारमाथि निरन्तर दबाब बढिरहेका बेला उद्योगमन्त्री यादवको राजीनामालाई राजनीतिक तथा प्रशासनिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

