साउन ४,काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष एवं प्रभावशाली नेता डाक्टर भीम रावलले हिजो सांसद पदबाट राजीनामा दिनुभयो ।
उहाँले नेपालमा अनैतिक र दुषित राजनीति भएको भन्दै पदबाट राजीनामा दिनुभएको थियो ।
उहाँको राजीनामाले नेपालका शीर्ष नेताहरुलाई नैतिक दवाव परेको छ ।
अब भीम रावलकै शब्दमा भन्ने हो भने नेपाली शासन सत्ता अनैतिक र दुषित राजनीतिबाट जन्मिएको छ ।
त्यसपछि उहाँले जनतासँग माफी माग्नुभएको छ ।
उहाँले भन्नुभएको छ जनता, विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु ।
अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु ।
नेता रावल नेकपा एमाले भित्रको विवाद समाधान गरेर एकता गर्नका लागि गठित कार्यदलको सदस्य हुनुहुन्थ्यो ।
उहाँ सहितका सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच १० बुँदे सहमति गर्दै पार्टी एकताका लागि प्रतिवेदन तयार पारेको थियो ।
उक्त प्रतिवेदनमा सर्वोच्च अदालतको फैसलापछि सरकार र पार्टीको भावी दिशानिर्देशका सम्बन्धमा संस्थागत निर्णय गर्दै अघि बढ्ने बुँदा समेटिएको थियो ।
उक्त सहमति अनुसार देउवालाई मत नदिने निर्णयमा सबै अडिग हुनुपर्ने थियो ।
तर माधव नेपाल देउवालाई मत दिने कुरामा अडिग हुनुभयो । त्यसपछि रावलले राजीनामा दिनुभएको थियो ।

