सबैलाई पठाउनु होला

साउन ३१,काठमाडौँ। हाते कागजमार्फत् यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ ।

काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्क भित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो ।

नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउनका लागि वैशाख १ गतेदेखि बन्द गरिएका टिकट काउण्टर कोरोनाको दोस्रो लहरको निषेधाज्ञापछि कम्युटर प्रणाली र प्रविधिको प्रयोग गरी सञ्चालनमा ल्याइएको हो।टिकट काउण्टरलाई ‘डिजिटल प्रणाली’मा लगेसँगै अब टिकट काउण्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनुपर्ने भएको छ ।

प्रविधिको प्रयोगसँगै यात्रुले अब कुन कम्पनीको कति नम्बरको गाडी कुन समयमा कुन गन्तव्यस्थानमा कति यात्रु लिएर जान्छ भन्ने कुरा स्पष्ट थाहा पाउन सक्छन्।कम्युटर प्रणाली अपनाएसँगै गाडीमा सिट भए वा नभएको प्रष्ट थाहा पाउने हुनाले आफूले चाहेको टिकट सजिलै काट्न सकिन्छ। नयाँ बसपार्कबाट हाल ६५ भन्दा बढी जिल्लामा एसी, डिलक्स र साधारण खालका सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् ।

नयाँ बसपार्कभित्रका ३२ टिकट काउण्टरले हाल कम्युटर प्रणालीमार्फत बसको टिकट काट्न सुरु गरेका छन्। ल्होत्सेले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ सङ्क्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको हो ।बस टिकट खरिद तथा बुकिङका लागि क्यूआरकोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ। ल्होत्सेले लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरेको हो ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जीनियर दीपक कुँवर टिकट काउण्टरलाई प्रविधिमा लगेसँगै बसपार्कका काउण्टरमा हुने भीडभाड र यात्रु तानातानको अवस्था अन्त्य हुने बताउँछन् । नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कका रूपमा विकास गर्ने लक्ष्यअनुसार काउण्टरमा प्रविधिको प्रयोगलाई जोड दिइएको अध्यक्ष कुँवरको भनाइ छ। ल्होत्सेले नयाँ बसपार्कभित्र चालक, सहचालक र यात्रुलाई सहुलियत दरमा खान र बस्नका लागि होटल तथा लजसमेत सञ्चालनमा ल्याएको छ ।

विसं २१०२ सम्म ल्होत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गर्न पाउने गरी सम्झौता भएको नयाँ बसपार्क सम्झौता अवधि सकिएपछि काठमाडौँ महानगरलाई जिम्मा लगाउनुपर्ने हुन्छ । बसपार्कभित्र निर्माण गरिएका संरचनासमेत महानगरलाई बुझाउने गरी सम्झौता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com