नेपाली कांग्रेसले भदौ १८ गतेदेखि वडा अधिवेशन गरिरहेको छ।
५६ जिल्लाका विभिन्न वडाहरूमा अधिवेशन भए पनि २१ जिल्लामा अधिवेशन हुन सकेको छैन। सुरूमा भदौ १८ मै देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने तयारी थियो।
पहिलो चरणमा क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको ५६ जिल्ला भित्रका वडाहरूमा मात्रै अधिवेशन भयो। बाँकी २१ जिल्लाका वडा अधिवेशन गर्न कांग्रेसले असोज ५ गतेसम्म समय दिएको छ।
विवादित क्षेत्रमा वडा अधिवेशन अनिश्चित बनेपछि कांग्रेसले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म नै गर्ने गरी तल्लो तहको अधिवेशन कार्यतालिका परिमार्जन गरिसकेको छ।
अब असोज ५ भित्र वडा अधिवेशन गरिसक्नुपर्छ। साथै असोज ९ मा गाउँपालिका र नगरपालिका अधिवेशन गर्नुपर्ने परिमार्जित कार्यतालिकामा उल्लेख छ। यसअगाडि भदौ २७ मा गाउँ/नगर अधिवेशन तोकिएको थियो।
टोलदेखि केन्द्रीय महाधिवेशनसम्म कांग्रेसले आठ तहमा अधिवेशन गर्छ। वडा अधिवेशनबाट आएका क्षेत्रीय प्रतिनिधि मध्येबाट महाधिवेशन प्रतिनिधिहरू चयन हुन्छन्।
केन्द्रीय सभापति, कार्यसमिति र सदस्य महाधिवेशन प्रतिनिधिमध्येबाट हुने हो भने महाधिवेशनका लागि पनि मतदाता महाधिवेशन प्रतिनिधि नै हुन्।
कांग्रेस विधानअनुसार १६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले कूल चार हजार एक सय २५ जना महाधिवेशन प्रतिनिधि हुन्छन्।
प्रत्यक्ष र समानुपातिक प्रणालीबाट महाधिवेशन प्रतिनिधि आउँछन्।

