काठमाडौँ — इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीका रूपमा जान इच्छुक श्रमिक छनोट गर्न सोमबार भाषा परीक्षा सम्पन्न भएको छ । इजरायलले भाषा परीक्षा सञ्चालन गर्ने सबै जिम्मेवारी नेपाललाई दिएको छ । वैदेशिक रोजगार विभागका अनुसार काठमाडौंका १६ वटा केन्द्रमा भएको परीक्षामा ७ हजार ९ जना सहभागी भएका छन् । पहिलो चरणमा छानिने हजार जनामध्ये ७ सय जना महिला र ३ सय जना पुरुष हुनेछन् । विभागले श्रमिक छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र मर्यादित हुने भएकाले एजेन्टको पछाडि नलाग्नसमेत सचेत गराएको छ । ‘अहिले हामीलाई पारदर्शी ढंगले एक हजार कामदार छनोट गर्ने जिम्मेवारी छ । यसमा नेपाल सरकार सफल भएमा थप २५ सय जनाको कोटा आउँछ,’ विभागका निर्देशक डम्बरबहादुर सुनुवारले भने, ‘त्यसकारण पनि हामी छनोटमा कुनै खालको प्रश्न नआओस् भनेर काम गरिरहेका छौं ।’ यसअघि इजरायलले भर्ना प्रक्रिया अपारदर्शी भएको भन्दै नेपालबाट कामदार लैजान रोकेको थियो ।
अप्टिकल मार्क रिड मेसिनबाट कापी जाँचिन्छ । प्रश्न पनि सुरक्षा घेरामा मुद्रण विभागमा छापिएको छ,’ उनले भने, ‘यसरी लिइएको परीक्षामा पास भएकाले अन्तर्वार्ता दिने हो । त्यो नम्बरको आधारमा हामी प्राप्त माग संख्याभन्दा २५ प्रतिशत बढीको सूची इजरायल पठाउँछौं ।’ उक्त सूचीबाट इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआईबीए) ले गोला प्रथाबाट छनोट गर्नेछ । पीआईबीएले छनोट गरी पठाएको व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौता हुन्छ ।
कमाइ र कार्यस्थलको हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य मानिन्छ । इजरायल जाने कामदारको न्यूनतम तलब १५ सय ४३ डलर (झन्डै १ लाख ८३ हजार रुपैयाँ) छ । सन् २००९ सम्म म्यानपावर कम्पनीबाट नै कामदारको छनोट हुने गरेको थियो । म्यानपावर कम्पनीले जाने कामदारसँग १२ लाख रुपैयाँसम्म असुल गरेपछि नेपालबाट श्रमिक लैजान नै बन्द भयो । इजरायल बन्द भएको झन्डै ११ वर्षपछि सरकारी संयन्त्रबाट नेपाली श्रमिक लैजाने प्रक्रिया पुनः सुरु भएको हो ।

