सबैलाई पठाउनु होला

बुटवल — मंगलबार चर्को घाममा छाता ओढेर दर्जनौं महिला सिद्धार्थ राजमार्गको मणिग्राम क्षेत्रमा देखिए । उनीहरू सबैजसोका हातमा प्लेकार्ड थियो भने जुलुसको अगाडि देखिएका महिलाले बोकेको ब्यानरमा लेखिएको थियो, ‘जस्टिस फर सीता भण्डारी । सीताको न्यायका लागि एकजुट हौं ।’

भदौ २० गते आफ्नै घरको कोठामा मृत भेटिएकी तिलोत्तमा–५ की सीता भण्डारी पौड्यालको न्यायका लागि उनीहरू जुटेका थिए । जारी अनुसन्धानमा पीडित परिवार आश्वस्त हुन नसकेकैले सीताको शव नौ दिनयता लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमै छ । आफूहरूले हत्यामा किटानी जाहेरी दिए पनि आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएको भन्दै माइती पक्ष आन्दोलित छ । उनीहरूले कहिले इलाका प्रहरी कार्यालय, कहिले तिलोत्तमा नगरपालिका त कहिले पीडकको घर घेराउ गरिरहेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार मुखबाट रगत बगेको, गलामा चुन्नीले कसिएको र भुइँमा लडेको अवस्थामा सीता कोठामा मृत भेटिएकी थिइन् । उनका बाबु हरिप्रसाद भण्डारीले छोरीको हत्या नै भएको दाबीसहित इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिए । तर प्रहरीले जाहेरी लिन मानेन । पति टीका र आमाजू विष्णु पक्राउ परेपछि मात्रै प्रहरीले भदौ २३ मा आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता गर्‍यो । अहिले प्रहरीले दुवैमाथि म्याद थप गरेर अनुसन्धान जारी राखेको छ । रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जाहेरीकर्ताले हत्याको दाबी गरे पनि प्रमाण नपुगेकाले आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएको बताए ।टीका पाल्पा तानसेनको होलाङ्दी जाने बाटोमा ‘दि दरबार कटेज एन्ड रिसोर्ट’ सञ्चालन गर्थे । दुवै जना भदौ ६ गते पाल्पाबाट तिलोत्तमास्थित घर आएका थिए । एक दिन घर बसेपछि तीज मानेर फर्किने योजनासहित सीता भोलिपल्ट तिलोत्तमा–८ स्थित माइतीघर गएकी थिइन् । पाल्पा भएका टीकाले भदौ १९ मा सीतालाई फोन गरेर ‘घरमा दिदीका छोरा भतिजको बर्थडे पार्टी छ’ भन्दै बोलाए ।

पतिको वचन हार्न नसकेपछि उनी दिउँसो २ बजेतिर घर पुगिन् । तर श्रीमान्ले भनेजस्तो घरमा बर्थडे पार्टी थिएन । तीज मान्न आएकी छोरी हतारहतार फर्केपछि सीताका माइतीले उनलाई रातिसम्म फोन गरिरहे । तर फोन उठेन । सीता घर फर्केको भोलिपल्ट बिहानै ५ बजेतिर टीकाले ‘काम छ’ भनी माइती परिवारलाई घर बोलाए । सीताका बुबाआमा हुर्रिंदै त्यहाँ पुग्दा छोरीको मृत्यु भइसकेको थियो । बुबा हरिप्रसादले भने, ‘हत्या गर्नकै लागि छोरीलाई योजनाबद्ध तरिकाले बोलाएका रहेछन् ।’

छिमेकीका अनुसार सीता र टीकाबीच १५ वर्ष उमेर अन्तर थियो । ४० वर्षिय टीका र २५ वर्षीया सीताको २ वर्षअघि बिहे भएको थियो । पहिलो पत्नीसँग सम्बन्धबिच्छेद भएपछि टीकाले सीतासँग बिहे गरेका थिए । पछिल्लो समय उनीहरूबीच राम्रो सम्बन्ध थिएन । रक्सी खाएपछि पतिले मनपरी बोल्ने र कुटपिट गर्ने गरेको गुनासो सीताले गरिरहन्थिन् । सीता घर पुगेको दिन सासू, ससुरा, आमाजू, जेठाजु, जेठानीलगायत त्यहीं रहेको प्रहरी अनुसन्धानले देखाएको छ । राति ११ बजेसम्म परिवारसँगै रहे पनि त्यसपछि थाहा नभएको आमाजू विष्णुले प्रहरी बयानमा दाबी गरेकी छन् ।

प्रहरीका अनुसार घटनाको दिन पनि टीकाले मदिरा सेवन गरेका थिए । परिवारका अन्य सदस्य भने यसबारे बेखबर थिए । माइती पक्ष पुगेपछि मात्रै उनीहरू घटनास्थल अर्थात् सीताको कोठामा गएका थिए । इप्रका बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले सीताको पोस्टमार्टम गर्दा ‘ह्यांगिङ’ देखिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com