सबैलाई पठाउनु होला

काठमाडौँ — चाबहिल–जोरपाटी–साँखु सडकअन्तर्गत थली चोकमा छ, ६८ वर्षीय भवनाथ भण्डारीको पसल । कागेश्वरी मनोहरा–५ का भण्डारी फलफूल पसल गर्छन् । तर, पसलअघिको सडकका कारण दिक्क छन् । सडकमा बुङबुङ्ती उड्ने धूलोले फलफूल फोहोर हुने, बिग्रिने मात्र होइन ग्राहकसमेत आउन अप्ठ्यारो मान्ने गरेको उनले बताए । ‘आम्दानीको स्रोत यही हो,’ उनले निराश हुँदै भने, ‘सडककै कारण व्यवसाय चौपट भयो ।’ विस्तार सुरु भएको ६ वर्षमा पनि सडकको काम सकिएको छैन । बरु भण्डारीजस्ता व्यवसायी पानी पर्दा हिलो र नपर्दा धूलोको सामना गर्न बाध्य छन् । यो सडकमा सवारीको चाप बढी नै हुने भएकाले धुलो उडेर वरपर देखिँदैन । दिनभर पसलमा बस्नुपर्दा खोकीको समस्यासमेत देखिन थालेको भण्डारीले सुनाए ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले चाबहिलदेखि साँखुसम्म ११.४६ किमि सडक विस्तार २०७२ सालबाट सुरु गरेको हो । त्यसमध्ये ७.५० किमि सडक निर्माण सकिएको छैन । सुरुमा पाँच खण्डमा विभाजन गरेर ठेक्का दिइएकामा दुई खण्डको निर्माण सकिए पनि तीन खण्डमा पटकपटक म्याद थपे पनि काम पूरा भएको छैन । त्यसमा पनि सबैभन्दा बढी समस्या थली उकालोदेखि ब्रह्मखेल खण्डको ३ किलोमिटरमै छ । अन्यत्र पनि कतै सडक कालोपत्र गरिएको छ भने कतै अलपत्र छाडिएको छ । कालोपत्र गरिसकिएको सडकमा पनि ठाउँ–ठाउँमा खाल्डा पर्न थालेका छन् ।

‘सडक अलपत्र पारेपछि पटकपटक आन्दोलन गर्‍यौं, बाटो पनि बन्द गर्‍यौं तर कहीँबाट सुनुवाइ भएन,’ व्यवसायी भण्डारीले भने, ‘अब त हार मानिसक्यौं । सडक बन्छ र धूलोबाट मुक्ति पाइन्छ भन्ने विश्वास नै लाग्न छाड्यो ।’ यो सडकखण्डमा व्यापार–व्यवसाय गरेर जीविका चलाउनेहरूको उस्तै बिजोग छ । ‘मास्कले समेत नछेक्ने धूलो उड्छ,’ अर्का एक व्यवसायीले भने, ‘व्यापार प्रभावित हुँदा भाडा तिर्न हम्मे छ । अझै सडक बन्ने छाँटकाँट देखिन्न ।’ यहाँका व्यवसायी मात्र होइन यो सडकखण्ड भएर ओहोरदोहोर गर्ने यात्रु र सवारी चालकले पनि उस्तै सास्ती बेहोरिरहेका छन् । यहाँको सडक विस्तार प्रगति हालसम्म ६८ प्रतिशत मात्र छ । बज्रगुरु×–बिरुवा–खानी जेभीले जोइन्टमा लिए पनि यहाँको काम बिरुवा कन्स्ट्रक्सनले गरिरहेको छ । २०७२ असोज १३ मा सम्झौता भएको यो खण्डको म्याद तेस्रो पटक थप्ने तयारी छ । अब थपिने ठेक्का अवधि २०७८ चैतसम्म हुनेछ । सुरुमा ४५ करोड ६९ लाख २ हजार रुपैयाँमा गरिएको ठेक्काको संशोधित रकम भने ५० करोड ७१ लाख ४४ हजार रुपैयाँ छ । यसमध्ये ३१ करोड २५ लाख ३७ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।

केही खण्डमा फाटफुट ग्राभेल गरिएको जस्तो देखिन्छ । कतैकतै बीच सडकमै ठूला खाल्डा खनिएका छन् । यसले सवारी चालक र यात्रुलाई बढी कष्ट छ । कतिपय अवस्थामा साना सवारी दुर्घटनामा समेत पर्ने गरेको स्थानीय पेम्बा लामाले बताए । सडकमा पर्ने घर स्थनीयले भत्काउन नदिँदा विस्तारको काममा ढिलाइ भएको कागेश्वरी मनोहरा नगरपालिका–५ का वडाध्यक्ष राजाराम पुडासैनीको भनाइ छ । ‘निर्माण व्यवसायीले पनि कल्भर्ट र समस्या नरहेका ठाउँमा फुटपाथ बनाएका छैनन्,’ उनले भने, ‘ढल अव्यवस्थित हुँदा समस्या थपिएको छ ।’

बढी समस्या थली खण्डको ७ सय मिटर सडकमा छ । निर्माण व्यवसायीले म्याद थप भएपछि जहाँजहाँ काम गर्न सकिन्छ, त्यहाँ काम गर्ने आश्वासन दिएको पुडासैनीको भनाइ छ । ‘यो हाम्रो मातहतको सडक होइन, संघीय सडकभित्र पर्छ,’ उनले भने, ‘यसमा हामीले समन्वय र सहजीकरण गर्ने मात्र हो ।’ बिरुवा कन्स्ट्रक्सनका प्रबन्धक बालकृष्ण थापाले भने स्थानीयको अवरोधका कारण सडक विस्तार रोकिएको प्रतिक्रिया दिए । सम्झौताअनुसार काम गर्न नपाउँदा आफूहरूलाई पनि ठूलो क्षति भएको उनको दाबी छ । ‘सडकमा ग्राभेल हालेर कालोपत्रको तयारी गरेका थियौं । बर्खा लाग्यो, काम बन्द भयो,’ उनले भने, ‘बर्खा सकिनेबित्तिकै हालिसकेको ग्राभेलमा बेस राखी कालोपत्र गर्छौं ।’ स्थानीयले सुरुमै सडकमा पर्ने घर भत्काउन नदिएको उनको भनाइ छ । ठेक्का लिएको खण्डमध्ये थली क्षेत्रमा मात्र काम बाँकी रहेको थापाले बताए । ‘सुरुमा लिएको पेस्की रकम व्यवस्थापन गर्दैमा खर्च भयो । दसैं आयो । कालोपत्र गर्न नगद चाहिन्छ । त्यसको व्यवस्थापन गरेर मात्र काम गर्छौं,’ उनले भने ।अर्को खण्ड नारायणटारस्थित वाग्मती पुलदेखि थली उकालोसम्म निर्माणको जिम्मा बज्रगुरु–च्याङ्मिला–खानी जेभीले लिएको छ । २.४ किमि दूरी रहेको यो खण्डको भौतिक प्रगति ७४ प्रतिशत मात्र छ । सम्झौताअनुसार २०७५ पुस १४ मै विस्तार सकिनुपर्ने हो तर तीनपटक म्याद थपिइसकेको छ । सुरु ठेक्का रकम ३१ करोड ८१ लाख ४७ हजार रहेको यो खण्डको संशोधित रकम ३६ करोड ४८ हजार छ । अहिलेसम्म निर्माण कम्पनीले २६ करोड ६७ लाख ७१ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ ।यसैगरी, ब्रह्मखेलदेखि सम्बुटारसम्म २.४६ किमि सडक विस्तारको ठेक्का बीटी–सुनकोसी–वर्ल्डवाइड जेभीले लिए पनि काम पूरा भएको छैन । तीन पटक म्याद थप्दा भौतिक प्रगति ७४ प्रतिशत मात्र छ । सम्झौताअनुसार २०७५ पुस १४ मा काम सकिनुपर्ने हो । निर्माण कम्पनीले यो खण्डमा २३ करोड ५७ लाख ९१ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ । २६ करोड ६४ लाख १८ हजार रहेको सुरु ठेक्का रकम संशोधन भएर ३२ करोड १४ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

बढी समस्या थली खण्डमा देखिएको चाबहिल–जोरपाटी–साँखु सडक आयोजनाका सूचना अधिकारी अशोककुमार राय यादवले बताए । ‘समस्या समाधान भएर काम अघि बढाउन लागिएको छ । अब अन्यत्र धेरै समस्या छैन,’ उनले भने, ‘आगामी चैतभित्र यो क्षेत्रका सबै सडकको काम सकिन्छ । नसके निर्माण व्यवसायीलाई कारबाही गर्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com