कार्तिक २६ गोरखा । आफ्नो गृहजिल्ला गोरखाको जनताका घर दैलो गर्दै समस्या र गुनासो सुन्दै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई सुज अभियानअन्तर्गत गोरखाका गाउँ-गाउँ पुगेका छन्।

चुनावकै बेलाजस्तै गरी भट्टराई जनताका घरदैलोमा पुगेका छन्। उनी मंसिर ३ गतेसम्म गोरखाका क्षेत्र नम्बर १ र २ का विभिन्न बस्ती पुग्ने र जनताका कुरा सुन्ने तथा कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम छ।

भट्टराई सडक नपुगेका क्षेत्रमा लौरी टेकेरै पुगेका छन्। जसपाको संगठन सुदृढीकरण तथा गोरखाका जनतासँग कुराकानी गर्न भन्दै उनी गाउँगाउँ पुगेका हुन्।

भट्टराईले गाउँमा जसपाका नेता तथा कार्यकर्ता मात्र होइन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्तासँग पनि कुराकानी गरिरहेका छन्।

भट्टराईको साथमा जसपा नेता हिसिला यमी र गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्य, गोरखा जसपा अध्यक्ष यानप्रसाद भट्ट, पूर्वसभासद ज्ञानेन्द्र कुमाल, गोरखा जसपा पार्टी उपाध्यक्ष राजेन्द्र पराजुली लगायत नेताहरू पनि गाउँगाउँमा पुगेका छन्।

