काठमाडौं – ‘हामीलाई निमिट्यान्न पार्न खोज्ने षड्यन्त्रहरु एकै मिनेटमा चुट्की बजाएर समाप्त पारिएको छ,’ यस्तो कुरा बोल्दै गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रसन्न देखिए ।
लामो समयदेखि कम्युनिष्ट पार्टीहरुका बीचमा विवादित र प्रतिनिधिसभामा विचाराधीन अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) व्याख्यात्मक घोषणासहित अनुमोदन भएपछि पत्रकार सम्मेलन गर्ने दलहरुको लहरमा मंगलबार एकीकृत समाजवादी पनि मिसियो ।
जुन कार्यक्रम अवधिभर अध्यक्ष माधव नेपाल विजयी भावमा देखिए । हुन त नेकपा एकीकृत समाजवादी बनाएदेखि अहिलेसम्म उनीसँगै रहेका नेता झलनाथ खनाल भने उनको छेउमा देखिएनन् ।
अध्यक्ष नेपालको यो खुसीका पछाडि एमसीसी अनुमोदन हुनु पनि एउटा कारण त होला, तैपनि खुसी हुनुमा त्यो भन्दा मुख्य कारण चाहिं पार्टी जोगिनु नै हो । यदि एमसीसी अनुमोदनमा यो व्याख्यात्मक घोषणाको विकल्प नभेटिएको भए, सबैभन्दा ठूलो क्षति संभवतः माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादीलाई नै हुन्थ्यो ।
ओलीको रणनीति परास्त गरेको भन्दै माधव नेपाल खुसी देखिएका थिए। आफ्ना १४ सांसद र सभामुख अग्निप्रसाद सापकोटा हटाउने षड्यन्त्र कै कारण व्याख्यात्मक घोषणामा सहमति जुटेको नेता नेपाल स्वयंले भनेका छन् । आफूहरु एमसीसी संसदबाट अनुमोदन गर्न तयार नहुँदा केपी ओलीद्वारा षड्यन्त्र रचिएकोे उनको स्पष्टोक्ति छ ।
‘फागुन १ मा भएको षड्यन्त्र हामीलाई थाहा छ । त्यही दिन हाम्रो पार्टी समाप्त पार्ने षड्यन्त्र भएको थियो,’ नेपालले भने । फागुन १ मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसद विरुद्ध नेकपा एमालेले दिएको मुद्धा सर्वोच्च अदालतमा पेशी चढेको थियो ।

