सबैलाई पठाउनु होला

काठमाडौं –  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनावमा जाने वातावरण बनाइदिन  निर्वाचन आयोग र  सरकारलाई आग्रह गरेको छ । सत्तारुढ पाँच दलको बैठकमा बुधबार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विप्लवको पार्टीले चुनावमा भाग लिन दल दर्ता र मतदाता नामावली संकलन खुला गर्नुपर्ने शर्त राखेको सुनाएका थिए ।

त्यसको भोलिपल्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आफैं निर्वाचन आयोग पुगेका छन् । उनले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायतलाई भेटेर स्थानीय निर्वाचनमा सहभागी हुने वातावरण बनाइदिन आग्रह गरेका छन् । तर दल दर्ता र मतदाता नामावली पुनः संकलन गरेर ३० वैशाख २०७९ को चुनाव गर्न नसकिने जवाफ आयोगका पदाधिकारीहरुले प्रकाण्डलाई दिए ।

हालसालै कपिलवस्तुमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले चुनावमा सहभागी पनि नहुने र बहिस्कार पनि नगर्ने निर्णय गरेको थियो । पार्टीभित्र महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड चुनावमा जानुपर्ने पक्षमा थिए । तर पार्टीमा ६९ सदस्यीय केन्द्रीय कमिटीका ४४ जना विप्लवको विपक्षमा उभिँदा मध्यमार्गी निर्णय भएको थियो ।

‘निर्वाचन बहिस्कार गर्ने पार्टी पनि नभएकाले स्थानीय स्तरमा क्रान्तिकारी, भ्रष्टाचार विरोधी , देशभक्त, एमसीसी विरोधी   उम्मेदवारलाई समर्थन गरिनेछ’ निर्णयमा भनिएको थियो । नेताहरुका अनुसार निर्णयमा पार्टीबाट बाहिर चिनिएका नेता, कार्यकर्ता चुनावमा उम्मेदवार नबन्ने भनिएको थियो ।

तर शुक्रबार प्रवक्ता प्रकाण्ड निर्वाचनमा सहभागी हुने प्रस्ताव लिएर आयोग पुगे ।  ‘चुनावमा जाने निर्णय भएकाले छलफल गर्न आयोग पुगेको थिएँ ’ , उनी भन्छन् । प्रकाण्ड निकट एक केन्द्रीय सदस्यका अनुसार संसदीय व्यवस्थामाथि प्रश्न उठाउँदै आएका दलहरुबीच मोर्चा बनाएर चुनावमा जानेबारे प्रकाण्डले छलफल गरेका छन् ।

‘मोर्चालाई दर्ता गराएर चुनावमा सहभागी हुने भन्ने नीति लिइएको हो, यही विषयमा प्रवक्ताले आयोगमा छलफल गर्नु भएको छ’ उनले  भने, ‘यद्यपि, यो प्रारम्भिक चरणकै छलफल हो, निर्णय भइसकेको छैन ।’ नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला भने यसबारे पार्टीमा छलफल नभएको बताउँछन् ।

अहिले मतपत्र छपाइ भइरहेको छ भने ११-१२ वैशाखमा उम्मेदवारी दर्ताको समय तोकिएको छ । यस्तो अवस्थामा प्रकाण्डले राखेको माग सम्बोधन गर्नु भनेको तत्काललाई निर्वाचन स्थगित गर्नु भन्ने भएको आयोगका एक आयुक्त बताउँछन्

दुई सर्त चुनावमा सहभागी हुन 

प्रकाण्डले पछिल्लो समय आफ्नो पार्टीसहित नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी केन्द्र समाजवादी , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी   लगायतबीच मोर्चा बनाएर निर्वाचनमा सहभागी हुनेबारे छलफल  भैरहेका छन् ।

तत्काललाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीसँग मिलेर मोर्चा दर्ता गर्ने योजना छ । त्यसबारे बुझ्न आयोग पुगेका उनले दल दर्ताको वातावरण बनाइदिन आग्रह गरे ।

साथै आफ्ना नेता, कार्यकर्ताहरुको नाम मतदाता नामावलीमा छुटेकाले पुनः संकलन गर्नुपर्नेमा जोड दिएका छन् । ‘चुनावमा जाने–नजाने निर्णय भइनसकेकाले नेता कार्यकर्ताको नाम समावेश गर्न छुटेको भन्ने उहाँहरुको भनाइ रह्यो’ भेटमा सहभागी एक अधिकारी भन्छन् ।

आयोगका पदाधिकारीले चाहिँ निर्वाचनको तयारी धेरै अगाडि बढिसकेको जवाफ प्रकाण्डलाई दिएका छन् । ‘निर्वाचन घोषणा भएपछि मतदाता नामावली संकलन गर्न दिने व्यवस्था नै छैन’ आयोगका एक आयुक्त भन्छन्, ‘अब फेरि मतदाता नामावली संकलन गर्ने हो भने निर्वाचन तालिका अर्को बनाउनुपर्ने हुन्छ । यो भनेको ३० वैशाखको निर्वाचन सार्नु हो, जुन असम्भव जस्तै छ ।’

मतदाता नामावली संकलन २५ माघबाटै स्थगित भएको छ भने दल दर्ताका लागि गत १५ फागुनसम्मको समय दिएको थियो । अहिले मतपत्र छपाइ भइरहेको छ भने ११-१२ वैशाखमा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

यस्तो अवस्थामा प्रकाण्डले राखेको माग सम्बोधन गर्नु भनेको तत्काललाई निर्वाचन स्थगित गर्नु भन्ने भएको आयोगका एक आयुक्त बताउँछन् । ‘निर्वाचनको कार्यतालिका अघि बढिरहेको अवस्थामा यो प्रस्ताव व्यवहारिक पनि छैन’ उनले अघि भने, ‘एउटा एक्सप्रेस रेल स्टेशनबाट छुटेपछि अर्को स्टेसनमा मात्रै रोकिन्छ, बीचमा यात्रु चढाउन वा झार्न मिल्दैन । यो पनि त्यस्तै हो ।’

एक्लै गएर केही हुँदैन, राजनीतिक शक्ति निर्माण गरौं भन्ने प्रस्ताव तीन महिना अघि नै राखेको थिएँ, उहाँहरुले त्यतिवेला वास्ता गर्नुभएन, अहिले कुबेलामा तात्नु भएको छ, यसको कुनै अर्थ छैन – ऋषि कट्टेल, नेपाल कम्युनिष्ट पार्टी

प्रकाण्डले चाहिँ आफूहरु चुनावमा जाँदा आयोग र सरकारले पनि सहयोग गर्ने बताइरहेका छन् । चुनावमा जाने निर्णय भए सरकारले निर्वाचन सारेर भएर पनि समर्थन गर्ने भन्दै उनी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई भेट्न मंगलबार उनको निवासमा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com