काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर पदका एकजना स्वतन्त्र उम्मेदवारको फोटो भाइरल जस्तै भएको छ। जताततै मिडिया र सामाजिक सञ्जालमा प्रचारित रहेको छ।
धेरैलाई लाग्न सक्छ राष्ट्रिय झण्डा पिठ्युँमा ओढेका उनले राष्ट्रिय झण्डाको सम्मान गरेका छन्। तर उनको फोटोमा देखिएको राष्ट्रिय झण्डाको अवस्था अपमानजनक र झण्डा प्रयोगको कार्यविधि विपरीत रहेको छ।
देशको राजधानीमा बस्ने, त्यो पनि महानगरलाई अनुपम बनाउँछु भनेर सपना र योजना बोकेर आएको एउटा युवकलाई राष्ट्रिय झण्डाको प्रयोग, यसको सम्मान र अपमानको अवस्था के हो भन्ने कुरा ज्ञान नभएको भनेर कसरी अनुमान गरौं।
तर धेरैले रुचाएको एउटा व्यक्तिले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दा त्यही कुराले झण्डा प्रयोगको (कु)संस्कार कोख रुप धारण गयो भने के होला ? यो विषय उठानको आशय यत्ति मात्रै हो।
राष्ट्रिय झण्डा तथा राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि २०६९ का अनुसार राष्ट्रिय झण्डाको अपमान गर्न–गराउन पाइँदैन। चन्द्रमा तल पर्ने गरी झण्डा उल्टो राख्न, व्यापारिक विज्ञापनमा प्रयोग गर्न, राष्ट्रिय झण्डाको प्रतीक व्याच टाँस्दा कम्मरभन्दा तल टाँस्न र चन्द्रमा तल पर्ने गरी प्रयोग गर्न पाइँदैन।
मुलुकी अपराधसंहिता परिच्छेद ८ को दफा १५१ अनुसार राष्ट्रिय झण्डा र राष्ट्रिय गानको अपमान गरे तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ। छातीभन्दा तलको भागमा लगाइने कुनै भित्री वा बाहिरी बस्त्रमा झण्डाको प्रतीक वा चित्र राख्न पाइँदैन भन्नुको तात्पर्य बर्को ओढेझैं वा ज्याकेट वा कोट लगाएझैं पिठ्युँमा झण्डा ओढ्न नपाउने कुरा बुझ्न कठिन छैन।
फेरि आफ्नो देशको झण्डा, राष्ट्रिय गान र बा-आमाको सम्मान गर्ने कुरा नियम कानुनमा लेखिरहनुपर्छ भन्ने पनि होइन मन र विवेकले जान्ने कुरा हो। लिखित संविधान नै नभएका देश त सुव्यवस्थित चलेका नागरिक सामाजिक सभ्यताको परिधिमा छन् भने राष्ट्रियताका बारेमा बोलेर नथाक्ने हामीलाई आफ्नो राष्ट्रियताको सम्मान गर्न कानुनको दफा नै किन चाहिने ?
सरकारी कार्यालय भवनभित्र र बाहिर तथा आवास भवनहरूमा प्रयोग गरिने राष्ट्रिय झण्डा हरेक वर्षको बडा दशैं र नव वर्षको अवसरमा अनिवार्य रूपमा नयाँ फेर्नुपर्नेछ। तर राष्ट्रिय झण्डा च्यातिएमा, बिग्रेमा, रंग उडेमा वा अन्य कारणले अशोभनीय देखिएमा कार्यविधिको अधीनमा रही जुनसुकै समयमा पनि फेर्न सकिनेछ।

