काठमाडौं – नेपालको प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ।
न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको संयुक्त इजलासमा मंगलबार पूर्ण सुनुवाइ भएको थियो। सुनुवाइ सकिएसँगै अन्तरिम आदेश जारी हुने वा नहुने निर्णय इजलासले दिनेछ।
एआईजी विश्वराज पोखरेलले ज्येष्ठता र वरियता मिचेर कानुन विपरीत धीरजप्रताप सिंहलाई आईजीपी नियु्क्त गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनले आफू सिनियर भएकाले आफूलाई आईजीपी नियु्क्त गर्न, सिंहको नियु्क्ति खारेज गर्न अन्तरिम आदेश माग गरेका हुन ।
पोखरेलको रिटमा वैशाख २२ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले वैशाख ३० गतेको स्थानीय निर्वाचनको मुखमा प्रहरी संगठन नेतृत्वविहीन राख्न नहुने र बढुवासम्बन्धी तथ्य प्रमाणहरु अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्ने भएकाले अन्तरिम आदेश जारी गरेको थिएन।
सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै बढुवासम्बन्धी सम्पूर्ण कागजात झिकाउने आदेश गरेको थियो। साथै जेठ १७ गते मंगलबारलाई पूर्ण सुनुवाइका लागि पेसी तोकेको थियो।
एआईजी बढुवाविरुद्धको मुद्दाको पनि सुनुवाइ सकियो
आईजीपी नियुक्तिसँगै एआईजी बढुवाविरुद्ध परेको मुद्दाको पनि न्यायाधीशद्वय श्रेष्ठ र चुडालकै इजलासले सुनुवाइ सम्पन्न गरेको छ। न्यायाधीश माथेमाको एकल इजलासले एआईजी बढुवाविरुद्धको मुद्दालाई पनि आईजीपी नियुक्तिको मुद्दासँगै सुनुवाइ गर्न आदेश दिएको थियो।
डीआईजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले वरियता मिचेर एआईजी बढुवा गरेको भन्दै चैत १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। बढुवा सिफारिस समितिको सिफारिसअनुसार मन्त्रिपरिषद्ले डीआईजीहरु वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गरेको थियो।
पन्त निवर्तमान आईजीपी शैलेश थापा क्षेत्री ब्याची भएकाले उनीसँगै वैशाख १९ गते सेवानिवृत्त भइसकेका छन्। सिंह आईजीपी नियु्क्त भएका छन् भने धानुक एआईजी छन्।
रिट दायर गर्ने डीआईजीहरु कार्की, अर्याल र कार्की पनि निवर्तमान आईजीपी क्षेत्रीकै ब्याचको भएकाले उनीहरु पनि वैशाख १९ गते नै सेवा निवृत्त भइसकेका छन्। एआईजी बढुवाविरुद्धको पनि सुनुवाइ सकिएकाले यसमा पनि आजै निर्णय आउन सक्छ।

