सरकारले संरक्षण क्षेत्रहरूमा विकासका पूर्वाधार वन्यजन्तुमैत्री बनाउनुपर्ने मापदण्ड लागू गरेको छ। तर, कार्यान्वयन भएको पाइँदैन । निकुञ्ज क्षेत्रको राजमार्गमा वन्यजन्तुमैत्री भौतिक संरचना नहुँदा बर्सेनि औसतमा १ सय १ वन्यजन्तु मर्छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाँच वर्ष अवधिमा दुर्घटनाबाटै ५ सय ८ वन्यजन्तु मरेका छन्।
बर्दिया निकुञ्जको कुवाभारमा २७ पुस २०७५ मा पिकअप भ्यानले ठक्कर दिँदा लोपोन्मुख पाटेबाघ घाइते भएको थियो। घाइते अवस्थामै निकुञ्जभित्र पसेको बाघलाई उद्धार गरी उपचार गरियो। त्यसअघि ७ पुस २०७३ मा निकुञ्जकै कर्र्णाली–अम्रेनी सडकखण्डमा गाडीको ठक्करबाट वयस्क भाले पाटेबाघ मरेको थियो।
बाँके निकुञ्जमा त्यसयता पाँच वर्षमा ३ सय १६ वन्यजन्तु मरेको छ । बर्दिया निकुञ्जमा यही अवधिमा सडक दुर्घटनामा १ सय ९२ वटाको मृत्यु भयो। बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत राजेश लम्साल वन्यजन्तुमैत्री भौतिक पूर्वाधार नहुँदा समस्या भएको बताउँछन्। भन्छन्, ‘बबई सिँचाइ आयोजनाबाट निर्माण गरिएका नहरहरू पनि वन्यजन्तुमैत्री छैनन्। सिँचाइका नहरहरूमा डुवेर वन्यजन्तु मर्ने गरेका छन्।’
उनका अनुसार सडक दुर्घटना र वन्यजन्तुबाट मानवीय आक्रमण न्यूनीकरण गर्न निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा टाइम कार्ड लागू गरिएको छ। कर्णाली, अम्रेनी, सैनवार र रम्भापुर चेकपोस्टमार्फत निकुञ्जले टाइम कार्डमार्फत सवारी आवागमनमा निगरानी बढाएको छ। बाँके निकुञ्जका प्रमुख श्याम साह पूर्व–पश्चिम राजमार्गलाई चार लेनको बनाउँदा ठाउँ–ठाउँमा अन्डरपास र ओभरपासको व्यवस्था गर्नुपर्ने बताउँछन्।
बाँके निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग ७२ किलोमिटर लामो रहेको छ। रत्न राजमार्ग कोहलपुरबाट बबईसम्म ३० किलोमिटर लम्बाइ रहेको छ। बर्दियामा पनि पूर्व–पश्चिम राजमार्गमा झन्डै २५ किलोमिटरभन्दा बढी निकुञ्ज क्षेत्र नै पर्छ। हुलाकी राजमार्गमा भने खाता जैविक मार्ग छ। बाँके निकुञ्जभित्र सिक्टा सिँचाइ आयोजना र बर्र्दिया निकुञ्जमा बबई सिँचाइ आयोजनाको नहर छ। यो नहर वन्यजन्तुमैत्री नहुँदा पानी पिउन जाँदा नै ज्यान जाने गरेको हो ।
निकुञ्ज क्षेत्रमा पर्यटकका लागि ठाउँ–ठाउँमा सडक बनाइएको छ। बर्दियामा घण्टापिच्छे जिप सफारी हुन्छ। निकुञ्जभित्र धेरै सडक निर्माण गर्दा पनि वन्यजन्तुमैत्री भएको छैन। यस्तो अभ्यास बर्दिया निकुञ्जमा अलि बढी नै छ। ठाउँ–ठाउँमा सडक नै सडक छ। जिप सफारी गर्न, खोलानाला तर्न बनाइएका पुलबाट भने ओहोरदोहोर गर्न सजिलो भएको छ।
स्वदेशी र आन्तरिक पर्यटक जिप सफारीबाट वन्यजन्तु अवलोकन गर्ने व्यवस्था मिलाइएको छ। गाडीको आवाज सुनेर वन्यजन्तु भागिरहेका हुन्छन्। पर्यटक भित्र्याएर आम्दानी बढाउन निर्माण गरिएको सडक र जथाभावी गुड्ने गाडीले वन्यजन्तुलाई असर पारिरहेको छ। बाँकेमा भने जिप सफारी खासै हुने गरेको छैन। सडक निर्माण कार्य पनि जारी नै रहेको छ।
निकुञ्जभित्र वन्यजन्तुका लागि आहारपानीका लागि भने काम भइरहेको छ। बाँके र बर्दिया दुवै निकुञ्जमा कृत्रिम ताल बनाइएका छन्। जसकारण वन्यजन्तुले सजिलैै पानी पिउन पाइरहेका छन्। बाँके राष्ट्रिय निकुञ्ज प्रमुख श्यामकुमार साह भन्छन्, ‘हरेक वर्ष कृत्रिम ताल थप्दै गएका छौं। जहाँ सोलार सिस्टमबाट चल्ने डिप बोरिङहरू जडान गरिएको छ। सो क्षेत्रमा बाह्रै महिना पानीको अभाव हुँदैन।’
बर्दियामा पनि यस्ता थुप्रै ताल रहेका छन्। चरिचरनको समस्या भएकोे क्षेत्रमा घाँसे मैदान पनि बनाइएको छ। यो अभ्यास पनि बाँके र बर्दिया दुवै ठाउँमा छ। बाँके निकुञ्जले निकुञ्जमा वारपार गर्न सजिलोका लागि तीन वर्षअघि तीनवटा झोेलुंगे पुल बनाएको थियो। पाइलट प्रोजेक्टका रूपमा सुरु गरिएको यो झोेलुंगे पुल बाँदरले खासै प्रयोग गरेको नपाइएको निकुञ्ज कार्यालयले जनाएको छ। बाँदर प्रजातिका जनावरलाई लक्ष्य गरी निर्माण गरिएको पुलको प्रयोग लोखर्के र न्याउरी मुसोले प्रयोग गरे पनि बाँदरले भने खासै प्रयोग नगरेको जनाइएको छ।
बाँके निकुञ्जमा पर्ने सिक्टा सिँचाइ आयोजनाको डिलमा भने तारजाली लगाएर वन्यजन्तुलाई पानी खान जाने क्रममा हुने मृत्यु रोक्ने प्रयास भइरहेको छ। अहिलेसम्म तीन किलोमिटर क्षेत्रमा तारजाली लगाउने काम भइसकेको छ। बर्दिया निकुञ्ज क्षेत्रमा अन्डरपास निर्माण गर्न राष्ट्रिय निकुञ्ज विभाग र डब्लूडब्लूएफको टोलीले अध्ययन गरेकाले सो अध्ययनकै चरणमा रहेको लम्सालको भनाइ रहेको छ। मानवीय जनसंख्या, वन्यजन्तुको संख्या र सवारी साधनको चाप बढेकाले पनि वन्यजन्तुमैत्री सडक निर्माणको आवश्यकता रहेको लम्साल बताउँछन्।
राजमार्गमा मानव वन्यजन्तुबीचको द्वन्द्व घटाउन वन्यजन्तुमैत्री सडक पूर्वाधारहरू अपरिहार्य रहेको उनको ठम्याइ रहेको छ। भारतको कर्तनियाघाट वन विहार र बर्दिया निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गबाट दिनहुँ वन्यजन्तु दुवै देशतर्फ ओहोरदोहोर गर्छन्। पूर्व–पश्चिम राजमार्गअन्र्तगत बर्दिया निकुञ्ज क्षेत्रको सडक खण्डमा वन्यजन्तुको उत्तिकै चहलपहल हुन्छ। संरक्षण क्षेत्रहरूमा सडकलगायत पूर्वाधार निर्माण हुने क्रमले तीव्रता लिएको छ। तर वन्यजन्तु मैत्री विकासका संरचनाहरू नबन्दा दुर्लभ, लोपोन्मुख एवम् संरक्षित वन्यजन्तुहरू अकालमै मरिरहेका छन्।

