सबैलाई पठाउनु होला

सिन्धुलीगढी –    सिन्धुलीगढीमा निर्माण गरिएको युद्ध संग्रहालयलाई नेपाल–अंग्रेज युद्धका ऐतिहासिक दस्तावेजका रूपमा लिइएको छ। वि.सं. १८२४ मा भएको नेपाल–अंग्रेज युद्धको ऐतिहासिक दस्तावेज संग्रहित कमलामाई नगरपालिका सिन्धुलीसँगको समन्वयमा नेपाली सेनाले उक्त संग्रहालय निर्माण गरेको हो।

सिन्धुलीगढी नेपाल एकीकरण अभियानमा सबैभन्दा संगीन र निर्णायक युद्ध भएको स्थान हो। नेपाललाई उपनिवेश बनाउन आएको इस्टइन्डिया कम्पनीका कप्तान किनलोकको अंग्रेज फौजलाई वीर गोर्खाली फौजले १८२४ असोज १४ गते परास्त गरेको इतिहास रहेको छ।

तत्कालीन कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न किनलोकको नेतृत्वमा आधुनिक हतियारसहित आएको २ हजार ४ सयको संख्यामा रहेको अंग्रेज फौजलाई सिन्धुलीगढीको युद्धबाट हराएका थिए।

संग्रहालयभित्र २५५ वर्षअघि भएको नेपाल–अंग्रेज युद्धका क्रममा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अंग्रेजहरूले प्रयोग गरेका तोप, नेपाली तथा बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरूको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ।

संग्रहालय निर्माणमा ६ करोड ५० लाख रुपैयाँ बढी लगानी भएको छ। संघीय सरकारको रक्षा मन्त्रालयअन्तर्गत सैनिक मुख्यालयले ४ करोड ५० लाख र कमलामाई नगरपालिकाले २ करोड बढी खर्च गरेको हो । सिन्धुलीगढी क्षेत्रको ऐतिहासिक र पुरातात्विक महत्त्वलाई अझ बढी प्रबद्र्धन गर्ने उद्देश्यअनुरूप संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा करिब २ वर्षअघि युद्ध संग्रहालयको निर्माण सम्पन्न गरिएको थियो।

नेपालकै प्रथम युद्ध संग्रहालयको दुई वर्षअघि सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। भण्डारीले त्यसबेला युद्ध संग्रहालयलाई असल र बहादुर पुर्खाहरूको अदम्य साहस र बलिदानीको ऐतिहासिक दस्तावेज भएको स्मरण गरेकी थिइन्।

सिन्धुलीगढी र युद्ध

सिन्धुलीगढीमा दुईपटक ऐतिहासिक युद्ध भएको इतिहास रहेको छ। १८२४ मा काठमाडौं उपत्यका कब्जा गर्न हिँडेको इस्टइन्डिया कम्पनी र नेपाली फौजबीच संगीन र निर्णायक युद्ध भएको इतिहासविद् सागरकुमार ढकाल बताउँछन्। सिन्धुलीगढी किल्ला नेपाली वीर गोर्खालीहरूको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङले १८२४ कात्तिक २४ गते साम्राज्यवादी ब्रिटिस अंग्रेज फौजलाई परास्त गर्दै नेपालको सार्भभौम र अखण्डता जोगाएको ऐतिहासिक स्थल हो।

त्यसको झण्डै ४७ वर्षपछि १८७१ मा दोस्रोपटक युद्ध भए पनि नेपाल टुक्रिएको ढकाल बताउँछन्। यी विभिन्न कालखण्डमा सिन्धुलीगढीले ऐतिहासिक महत्त्व राखेको छ। १८२४ मा भएको नेपाल–अंग्रेज युद्धमा विजय प्राप्त गरेका पृथ्वीनारायण शाहले त्यसैबखतदेखि सिन्धुलीगढीलाई सैनिक प्रशासनको रूपमा कायम राखेका थिए।

त्यसपछि रणबहादुर शाह,  गिर्वाणयुद्ध विक्रम शाह र राजेन्द्र विक्रम शाहको पालासम्म सिन्धुलीगढीमा सैनिक प्रशासन सञ्चालन हुन्थ्यो। तर, सुरेन्द्र वीर विक्रम शाह, पृथ्वी वीरविक्रम शाह र त्रिभुवन वीरविक्रम शाहका पालामा राणाकालीन (सामन्ती) प्रशासन सिन्धुलीगढीबाटै सञ्चालन हुन थाल्यो। यसबेला सिन्धुलीको मरिण र कमलाखोंचबाट पोता (जमिनको तिरो) उठाउन थालिएको इतिहास छ।

त्यसबेला मरिण र कमलाखोचमा राणाहरूको नाममा जग्गाहरू कायम थिए। राजा महेन्द्र वीरविक्रम शाहको पालामा प्रजातन्त्रको उदय भयो र सिन्धुलीगढीमा रहेको सैनिक प्रशासनलाई प्रजातान्त्रिक विद्यालयका रूपमा विकास गरियो। राजा वीरेन्द्रले सिन्धुलीगढीको मूल प्रशासनलाई पूर्ण रूपमा परित्याग गरिदिएपछि भौतिक रूपमा मात्र नभएर ऐतिहासिक रूपमा समेत ओझेल पर्दै गएको बताइन्छ।

प्रजातन्त्रमा इतिहास नै पराजित

२००४ सालमा राणा शासनको अन्त्यपछि गढी दरबारलाई राष्ट्रिय स्वामित्वमा  ल्याइएको थियो। २०२० सालसम्म सिन्धुलीको सदरमुकाम सिन्धुलीगढीमै थियो। यहीँबाट प्रशासनिक कार्यसम्पादन हुन्थ्यो। सो समयमा नेपाली सेना, प्रहरीले सुरक्षा दिएको थियो। २०२० मा जिल्ला सदरमुकाम सिन्धुलीमाढी झारिएपछि दरबार भग्नावशेषमा परिणत हुँदै गयो। गढी–किल्लाहरूको अस्तित्व लोप हुँदै गयो।

संघीय व्यवस्थापछि चासो

२०७२ को संविधानले नेपाललाई संघीयतासहितको शासन व्यवस्था कामय गर्‍यो। त्यहीँ संविधानअनुरूप २०७४ मा पहिलो स्थानीय निर्वाचन सम्पन्न भयो। लामो समयपछि स्थानीय तहले जनप्रतिनिधि पायो। सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म आयो। यसको फलस्वरूप ऐतिहासिक धरोहर सिन्धुलीगढीको मुहार फेरिन थाल्यो। संघीय, प्रदेश र स्थानीय सरकारले प्राथमिकतामा राखेर सिन्धुलीगढीको नवनिर्माण र पुनर्निर्माण थालिएको हो ।

जिल्लाकै ऐतिहासिक पुरातत्विक र पर्यटकीय गन्तव्यका रूपमा रहेको सिन्धुलीगढीलाई कमलामाई नगरपालिकाका निवर्तमान मेयर खड्गबहादुर खत्रीले नेपाली सेनासँगको समन्वयमा पुनर्निर्माण थालेका थिए। २ वर्षदेखि सिन्धुलीगढी युद्ध संग्रहालय सञ्चालनमा रहेको छ। सिन्धुलीगढी दरबार (रानीदरबार) को निर्माण अन्तिम चरणमा पुगेको छ। गढीको विश्वमा प्रचार थालिएको छ।

रानीदरबारको निर्माण अन्तिम चरणमा

कमलामाई र बागमती प्रदेश सरकार पर्यटन विकास आयोजनाको ४ करोड ३८ लाख ९९ हजार ५ सय २२ रुपैयाँको लागतमा ऐतिहासिक रानीदरबारको पुनर्निर्माणले तीव्रता पाएको छ। पुरानै शैलीमा निर्माण थालिएको उक्त दरबारको काम झण्डै ८० प्रतिशत सम्पन्न भएको हो ।

१६ महिनाभित्र सम्पन्न गर्ने गरी थालिएको निर्माण अबको २ महिनाभित्र सम्पन्न हुने कमलामाईका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले बताएका हुन । दरबारको पुनर्निर्माणको जिम्मा तुलसी÷एरिसा जेभी भक्तपुरले लिएको छ। पूर्व २ नं क्षेत्रको प्रशासन सञ्चालन गर्ने अड्डाको रूपमा परिचित गढीदरबार तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाका भाइ बमबहादुर राणाका छोरा बमवीर विक्रम राणाले निर्माण गरे ।

ढकालाका अनुसार दरबारको निर्माण सम्पन्न भएपछि तल्लो तलामा रेस्टुरेन्ट र माथिल्लो तलामा राणाकालीन प्रशासन संग्रहालय स्थापना गरिने योजना बनाएको   छ।

पक्की बाटो, खानेपानी, पार्किङ, पिकनिक स्पट, शौचालय, अडियो भिजुअल रुम, एम्पिथिएटरलगायतका व्यवस्था रहेको छ। ‘सिन्धुलीगढीलाई अझ व्यवस्थित गर्न संघीय तथा प्रदेश सरकारसँग समन्वय गर्ने, नगरले उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउने र सोहीअनुसारको बजेट विनियोजन गर्ने गरी हामीले लागिपरेका छौं,’ उनले थपे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com