काठमाडौं – काठमाडौं महानगरपालिकाको नगर सभाको ११ औँ अधिवेसन असार ५ गते हुने भएको छ । आइतबार मेयर बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अधिवेसनको मिति तोकेको हो ।
बैठकमा प्रमुख शाहले नगरसभाको बैठक आव्हान, राजस्व परामर्श समिति गठन, कार्यपालिकाअन्तर्गतका विषयगत समिति गठन र विविध गरी ४ वटा प्रस्ताव पेश गरेका थिए ।
प्रस्तावहरुमा छलफल गर्दै बैठकले उपप्रमुख सुनिता डंगोलको अध्यक्षता स्थानीय राजस्व परामर्श समिति गठन गरेको हो । समितिको सदस्यमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, वडा १४ का अध्यक्ष सुमन श्रेष्ठ, कार्यपालिका सदस्य मीना सिंह चयन भएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६५ मा स्थानीय तहका उपप्रमुखको अध्यक्षतामा स्थानीय राजस्व परामर्श समिति गठन हुने व्यवस्था गरिएको छ । समितिको सदस्य सचिवमा राजस्व विभागका प्रमुख रहनेछन् । यसमा उद्योग वाणिज्य महासंघ र घरेलु तथा साना उद्योग सम्बन्धि संस्थाका प्रतिनिधि सदस्य रहननेछन् ।
बैठकमा प्रमुख शाहले पेश गरेको कार्यपालिका अन्तर्गतका विषयगत समितिका संयोजकहरुको नाम अनुमोदन भएको छ ।
जसअनुसार सुशासन समितिमा वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, सामाजिक समितिमा वडा १० का अध्यक्ष रामकुमार के.सी., पूर्वाधार समितिमा वडा १६ का अध्यक्ष मुकुन्द रिजाल रहेका छन् ।
वातावरण समितिमा वडा १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिमा वडा ११ का अध्यक्ष हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिमा वडा ८ का अध्यक्ष आशामान संगत, सूचना प्रविधि समितिमा वडा १७ का अध्यक्ष नविन मानन्धर रहेका छन् ।
यस्तै, शिक्षा र स्वास्थ्य समितिमा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिमा वडा २३ का अध्यक्ष मचाराजा महर्जन, राजस्व समितिमा वडा ३२ का नवराज पराजुली र विपद् व्यवस्थापन समितिमा वडा ३ का अध्यक्ष प्रेम थापा संयोजक भएका छन् ।
प्रस्तावमाथि छलफल गर्ने क्रममा प्रमुख शाहले महानगर आफैंभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयहरुविच समन्वय बलियो बनाउँदै गएपछि अहिले देखिएका समस्या क्रमशः समाधान हुँदै जाने बताएका छन् ।
‘साझा प्रयास र सहभागिताले लक्ष्य हाँसिल हुने हो । यसमा सबै सँगै हुनुपर्छ,’ प्रमुख शाहले भने । त्यसक्रममा उपप्रमुख सुनिता डंगोलले, पूर्वतयारीसहित गरिएको बैठक उपलब्धिमुलक भएको उल्लेख गरिन्। साझा धारणा बनाएर अगाडि बढ्नका लागि आउँदा दिनमा पनि पूर्वतयारीसहित बैठक गरिने उनको भनाइ रहेको थियो।

