काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मताधिकारबारे निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने भएका छन्।
विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिने विषयमा छलफलका लागि मंगलबार बिहान ११ बजे आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियालाई भेट्ने कार्यक्रम रहेको महामन्त्री शर्माले बताएका छन् ।
महामन्त्रीद्वयले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पनि उक्त विषयमा ध्यानाकर्षण गराएका थिए। शर्माले भने, ‘सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माणका लागि परमादेश जारी गरिसकेको अवस्थामा हिजो प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो ।
आज मुख्य निर्वाचन आयुक्तलाई मताधिकारको विषयमा ध्यानाकर्षण गराउन जाँदैछौं।’ उनीहरुले संघ र प्रदेशको निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्थाका लागि आयोगसँग आग्रह गर्न लागेका छन् ।

