विराटनगर – मोरङका अलगअलग स्थानमा दुर्घटना हुँदा दुई जना महिलाको मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ मा मोटरसाइकलको ठक्करबाट ५० वर्षीया विमला खड्काको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४७ प ००१५ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गर्दा ठक्कर दिएपछि पथरीशनिश्चरे–२ की खड्का गम्भीर घाइते भएकी थिइन्।
उनको उपचारका क्रममा मंगलबार राति ९:२० बजेतिर विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिएका हुन ।
उनका अनुसार दुर्घटनालगत्तै मोटरसाइकल चालक भोजपुरको अरुण गाउँपालिका–७ का ३५ वर्षीय सचिन राईलाई नियन्त्रणमा लिइएको छ। कार्कीका अनुसार राईसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएको पाइएको छ।
त्यस्तै सुन्दरहरैँचा नगरपालिका–११ मा लडेर मोटरसाइकलको पछाडि सवार ३० वर्षीया देवकुमारी श्रेष्ठको मृत्यु भएको छ। भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ३३ प ४२३१ नम्बरको मोटरसाइकलबाट हामफाल्न खोज्दा लडेर उनी घाइते भएकी थिइन्।
सुन्दरहरैँचा–११ घर भएकी श्रेष्ठलाई उपचारका लागि नोबेल अस्पताल ल्याउनसाथ चिकित्सकले मंगलबार साँझ ७ बजेतिर मृत घोषित गरेको प्रहरीले जनाए । प्रहरीका अनुसार साइकललाई जोगाउने क्रममा मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।
देवकुमारीकै पति ३१ वर्षीय सन्देश श्रेष्ठले मोटरसाइकल चलाएका बेला घटना भएको प्रहरीको भनाइ रहेको छ।

