सबैलाई पठाउनु होला

भद्रपुर नाका –   विहार तथा पश्चिम बङ्गाल राज्यसँग सीमा जोडिएको भद्रपुर नाकामा क्वारेन्टिन कार्यालय स्थापनाका लागि सरोकारवालाले माग गरे  ।

काँकरभिट्टास्थित क्वारेन्टिन कार्यालयको आयोजनामा आज भद्रपुरमा प्लान्ट क्वारेन्टिन सरोकारवालाको समन्वय बैठकमा सहभागीले विना जाँच कृषिजन्य वस्तुको आयात हुन थालेकाले सो नाकामा क्वारेन्टिन कार्यालय स्थापनाको माग गरेका छन् ।

बैठकमा उक्त कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देवीन्द्र साहूले प्लान्ट क्वारेन्टिन कार्यालयको मुख्य काम, कर्तव्य र अधिकारको विषयमा जानकारी गराउनुभएको थियो ।

उहाँले दोस्रो वा तेस्रो देशबाट कुनै पनि रोगका कीराको लक्षण भएको, क्षतिग्रस्त र सडेगलेका बिरुवा तथा अन्य उपज परीक्षण विना नेपाल प्रवेशमा अनुमति दिन नहुनेमा जोड दिनुभएको हो  ।

अधिकृत साहूले अवैधरुपमा बिरुवालगायत अन्य बीउबिजन तथा नेपाल प्रवेश गर्न निषेध गर्नुपर्ने, लुकीछिपी ल्याइएका वस्तु नियन्त्रणमा लिएर रोग फैलिन नदिन नष्ट गर्नुपर्ने, कृषिसँग सम्बन्धित वस्तु पैठारी हुँदा अनिवार्य रुपमा विरुवा स्वस्थताको प्रमाणपत्र जारी गर्नुपर्नेजस्ता विषयमा चर्चा गर्नुभएको छ  ।

उहाँले हाल भद्रपुर, गौरीगञ्ज र इलामको पशुपति नाकाबाट आयात तथा निर्यात हुने सम्पूर्ण कृषिसँग सम्बन्धित सामग्रीको परीक्षण काँकरभिट्टा कार्यालयबाट भइरहेको र चालु आवमा उक्त नाकाबाहेक अन्यबाट त्यस्ता वस्तुको आयात निर्यात शून्य रहेको जानकारी दिनुभएको छ  ।

नेपाल उद्योग सङ्घका जिल्लाअध्यक्ष यामबहादुर प्रधानले भद्रपुर नाकामा भन्सार भए पनि क्वारेन्टिन कार्यालयको अभावमा विना जाँच कृषिजन्य वस्तुहरु आयात भइरहेको बताउँदै तत्काल कार्यालय स्थापनाको माग गर्नुभएको छ । भद्रपुर भन्सारका प्रमुख रामेश्वरकुमार मिश्रले हालसम्म कृषिजन्य सामग्री यो नाका भएर नआएको बताउनुभएको हो  ।

उहाँले खुल्ला सिमानाको फाइदा उठाएर लुकीचोरी अवैध रुपमा नेपाल सामान भित्र्याउन नदिनका लागि सबै सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ  ।

फलफूल तथा सब्जी व्यवसायी सङ्घका अध्यक्ष सुनिलकुमार शाहले दैनिकजसो सयौ  केजी कृषिजन्य वस्तु भद्रपुर नाका भएर नेपाल आयात भइरहेको बताउनुभएको छ  ।

उहाँले जाँचका लागि काँकरभिट्टाको क्वारेन्टिन कार्यालयसम्म पुग्न टाढा हुने भएकाले व्यापारीले परीक्षण विनै भारतीय कृषिजन्य वस्तु आयत गर्ने गरिएको छ भन्नुभयोे । कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालयका प्रमुख मुकेश साह सञ्चारकमी, सुरक्षाकर्मी, भन्सार एजेन्ट सङ्घ, स्थानीय व्यापारीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com