सबैलाई पठाउनु होला

चितवन –    चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ । विडाम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरुष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार विहानदेखि चिकित्सकको सेवा लिन पाएका छैनन् ।

अहिले अस्पतालको पुरुष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा २४ बिरामी रहेकका  छन् । पुरुष मेडिकल वार्डका १४ नम्बर शय्यामा रहनुभएका ५५ वर्षीय श्याम सार्कीले भन्नुभयो ,’ डाक्टर साहेब नआनुभएको २४ घण्टा भयो ।’ उसो त अस्पतालको क्याबिनमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकसंग भेट्न पाएका छैनन् ।

क्याबिनका नर्ससँग ‘चिकित्सकको रोस्र्टर’समेत छैन । बिहान वार्डमा पुग्दा सबै बिरामी चिकित्सकको पर्खाइमा थिए । वृृद्धवृद्धा वार्डका १० बिरामी पनि चिकित्सक ‘कहिले आउलान्’ भनेर प्रतिक्षा गरिरहेका देखिन्थे । आक्कल झुक्कल आउने ‘मेडिकल अफिसर’ र ‘आवासीय चिकित्सक’को सुझाव अनुसार बिरामीलाई औषधि दिने गरेको नर्सहरूले बताएका छन  ।

महिला मेडिकल वार्डका नर्सहरुले दिएको जानकारीअनुसार शनिबार साँझको पालो डा ऋतुराज तिवारीको हो । बिरामीका आफन्तका अनुसार शनिबार बिहानको राउण्ड सिध्याएपछि एकजना चिकित्कसकले पनि वार्डमा ‘राउण्ड’ लगाउनुभएन ।

उनीहरु भन्दैथिए, ‘कम्तीमा चिकित्सकले हेरिदिएको भए, मन सन्तोष हुन्थ्यो ।’ यसो त चिकित्सकले बिरामी हेरेपछि आधा निको यसै हुने उनीहरूको बुझाइ छ । शनिबार दिउँसो भर्ना भएका बिरामीले चिकित्सकीय परामर्श आज बिहानसम्म पाउन सकेका छैनन् । अस्पतालका २० क्याबिन सहित मेडिकल वार्डका सबै शय्यामा बिरामी छन् ।

चितवनसहित २१ जिल्लाबाट विपन्न बिरामी यहाँ उपचार गर्न आउने गर्दछन् । आफ्नो ड्युटीमा नजानु भएका डा तिवारीले टेलिफोनमा भन्नुभयो, ‘गल्ती भयो, अब म गर्दिनँ ।’  यसअघि पनि डा तिवारी राउण्डमा नजाने गरेको नर्सहरूको गुनासो रहेको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले राउण्डमा नजाने चिकित्सकलाई कारबाही गर्ने जानकारी दिनुभया । उहाँले भन्नुभएको छ , ‘तालिकाअनुसार आफ्नो जिम्मेवारी पूरा नगर्ने चिकित्सकलाई तत्काल कारबाही हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गुनासो आफूले सुनेलगत्तै मेडिकल सुपरिटेण्डेन्टसँग यस विषयमा कुरा भएको बताउनुभएको थियो  । उहाँले अस्पताल विकास समितिको कर्मचारी भए समितिले र निजामतीको भए प्रशासनमार्फत कारबाहीका लागि सिफारिस गरिने जानकारी दिनुभएको हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com