सप्तरी – वर्षाको याम भए पनि असारको अन्त्यमा निकै गर्मी थियो । बिहान झरी पर्दा केही शीतल महसुस भए पनि मध्यान्ह घामले चरक्क पोलिरहेको थियो । छन्द कवि मेघराज पौड्यालको सप्तरीको कञ्चनरूपस्थित घरमा शनिबार आसपासका नगरबाट दुई दर्जन साहित्यकार भेला भएका थिए ।
मानिसले भरिएको कोठामा पङ्खा निरन्तर घुमिरहे पनि सबै जनाको अनुहारमा पसिना बगिरहेको थियो । कार्यक्रमले औपचारिकता पाएलगत्तै दायाँबायाँ दुई गुरुलाई राखेर लघुकथाकार खेमराज पोखरेलले प्रशिक्षण दिन थाल्नुभएको थियो ।
कञ्चनरूपस्थित सर्वोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तीर्थराज उपाध्याय र नेपाली शिक्षक शम्भुप्रसाद घिमिरेले आफ्ना शिष्यले भट्याएका श्लोक मन्त्रमुग्ध भएर सुन्नु भयो । लघुकथाकार पोखरेलले आफ्ना गुरुको योगदानप्रति गर्व गरिरहनु भएको थियो भने गुरुहरू आफ्ना शिष्य अर्थात् विद्यार्थीको गौरव बढाइरहनुभएको छ ।
लघु कथालाई जनसाधारणसम्म पुर्याउने उद्देश्यले स्थापित लघुकथा पाठ्य श्रव्य दृष्य प्रतिष्ठानले यो अवसर जुटाएको थियो । विभिन्न भाषाका लघुकथा दैनिक वाचन गराउँदै आएको प्रतिष्ठान र विभिन्न भाषाको साहित्य श्रीवृद्धिमा ३५ वर्षअघि स्थापित सगरमाथा साहित्य परिषद्को संयुक्त आयोजनामा भएको लघुकथा प्रशिक्षणमा नाम चलेका लघुकथाकारका साथै सिकारु लघुकथाकार पनि सामेल थिए ।
त्रिभुवन विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसमा ३३ वर्ष प्राध्यापन गरी सेवा निवृत् पश्चात् अमेरिका बस्दै आउनुभएका छन्द कवि पोखरेल कञ्चनरूपको बस्तीपुरस्थित घर आएको मौका छोपी लघुकथाबारे पहिलो प्रशिक्षण आयोजना गरिएको हो ।
लघुकथाको उन्नयनका लागि सङ्कल्पित ६६ वर्षीय श्रष्टा पोखरेलले प्र्रशिक्षण कार्यक्रममा लघुकथा के हो, कस्तो हुनुपर्छ र राम्रो लघुकथाका लागि के के चाहिन्छ भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।
उहाँका छवटा लघुकथा सङ्ग्रहसहित कथा सङ्ग्रह, निबन्ध सङ्ग्रह, कविता सङ्ग्रह, नियात्रा सङ्ग्रह गरी १४ वटा कृति प्रकाशित छन् । प्रशिक्षण पश्चात् विभिन्न प्रश्नको उत्तर दिँदै छन्द कवि पौड्यालले कथाभन्दा लघुकथा लेख्न निकै परिश्रम गर्नुपर्ने बताउनुभएको हो ।
लघुकथामा अनावश्यक शब्द नहुने तर सिङ्गो उपन्यासको विषयवस्तु अटने लघु कथाकार पोखरेलको जिकिर थियो । लघुकथाको प्रस्तुति घटनाको सरासर वर्णन नभएर घटनाको विकास, कथाको बनोट, चरित्र निर्माण, परिवेशको उद्घाटन आदिमा पाठकका मनमा अब के हुन्छ ?
अब के हुन्छ ? भन्ने उत्सुकता जागृत भइराख्ने र समापन अत्यन्त प्रभावकारी र पाठकका मनमा लामो समयसम्म अनौठो तरङ्ग सिर्जना गर्ने खालको हुनुपर्ने उहाँको भनाइ थियो । प्रश्नउत्तर सकिनासाथ पोखरेलका गुरुहरू उपाध्याय र घिमिरे पालैपालो उठ्नुभयो र भावुक हुँदै पुराना स्मरण सुनाउनुभएको छ ।
पाठ्य शिक्षासँगै मानवताको शिक्षा, ज्ञान, सीप, संस्कार पाउने र त्यसलाई प्रयोग गर्ने शिष्यले गुरुलाई सदैव गौरन्वान्वित बनाउने गरेको उहाँहरूले बताउनुभयो । सिकाइ र भोगाइको जीवनमा मानिसले जन्मेदेखि मृत्युपर्यन्त आफूलाई विद्यार्थी नै सम्झिरहनुपर्ने भन्दै उहाँहरूले ज्ञान बढाउने उपाय सिकाउनुभएको थियो ।
गुरुपूर्णिमा नजिकिएका बेला गुरु र शिष्यको भेट हुने गरी जुराइएको कार्यक्रममा आयोजकले प्रशिक्षक र प्रशिक्षकले आफ्ना गुरुहरूलाई सम्मान गर्दा सबै भावुक देखिए ।सगरमाथा साहित्य परिषद्का अध्यक्ष एवं प्रतिष्ठानका व्यवस्थापक मनोहर पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रमको सहजीकरण परिषद्का सचिव एवं प्रतिष्ठानका अर्का व्यवस्थापक नन्दलाल आचार्यले गर्नुभएको हो ।

