सबैलाई पठाउनु होला

ताप्लेजुङ –   ताप्लेजुङको मदनभण्डारी राजमार्गको गुफा–साँघु खण्ड श्रमदान गरेरै मर्मत गरिएको छ । दैनिक यातायात सेवा अवरुद्ध हुन थालेपछि स्थानीय आफैले १५ किलोमिटर सडक मर्मत गरे ।

सडक मर्मतमा करिब २०० स्थानीयको सहभागिता रहेको मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले जानकारी दिनुभयो । राजमार्गको गुफा–साँघु खण्ड जिर्ण थियो ।

वर्षायाममा यातायात सञ्चालन गर्न समस्या भएकाले श्रमदान गरी सडक मर्मत गरिएको उहाँले बताउनुभएको थियो  । सडक जिर्ण हुँदा बेलाबेलामा यातायात अवरुद्ध हुने गरेको थियो ।

गाउँपालिकाले आवश्यक स्काभेटर, जेसिभी र ट्र्याक्टरका लागि इन्धनको व्यवस्था गरेको तामाङले बताउनुभएको छ  । व्यवसायीले १७ ट्र्याक्टर निःशुल्क उपलब्ध गराएका थिए । ढुङ्गा र माटो मिलाउन मैवाखोलावासीले श्रमदान गरे ।

तिनजुरे, मिल्के, जलजले हुँदै कञ्चनजङ्घा तथा प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने उक्त सडकको स्तरोन्नतिमा सङ्घीय सरकारले चासो नदिएको स्थानीयको गुनासो रहेको छ । सङ्घीय सरकार मातहत रहेको सडकखण्डमा गाउँपालिकाले बजेट विनियोजन गर्न नमिल्ने भएकाले श्रमदान गरेर यातायात सहज रुपमा सञ्चालन गरिएको तामाङले बताउनुभएको हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com