महोत्तरी – आकाशमा बादल मडारिएको देख्नासाथ चुरे काछका बासिन्दा निदाउन सक्दैनन् । प्रत्येक वर्षको बर्खायाममा त्यहाँका बासिन्दाको डर, त्रास नियति नै बनेको छ ।
घर नजिकको पाखा ढलेर (पहिरो गएर) पुरिने र बर्खे भेलले खनजोत गरेर जीविका चलाइरहेका खेतबारीका पगटा (ससाना गरा) कटान गरिदिने काछका बासिन्दाले भोग्दै आएका व्यथा हुन् । जिल्लाको बर्दिबास नगरपालिकाका–३, ४, ५, १० र ११ का बस्तीमा चुरे अवस्थित छ ।
सिन्धुलीसँगको प्रदेश र जिल्लाको साँध छुट्याउने चुरे पहाड र यसका शृङ्खलाबाट निस्कने खोला, खोल्सीको बर्खे भेल र पहाडी थुम्का र पाखाबाट झर्ने पहिरोको त्रासले बर्खाभरि राम्ररी निदाउन नसकिने काछबासी बताउँछन् ।
‘चुरेका गल्छीपिच्छे खोल्साखोल्सी छन्, अलि जोडले पानी पर्यो कि उर्लेर आउन्छन् , अनि कसरी निदाउनसक्नु हजुर’, बर्दिबास–१० भालुचौरका लछुमन ल्हो भन्नुहुन्छ, ‘हेर्दाहेर्दै घरमाथिको पाखामा पहिरो खस्छ, अनि त ससाना लालाबाला काखमा च्यापेर भगवान् पुकार्नुबाहेक हाम्रो अरु उपाय रहँदैन ।’ बर्खा त भोगेकै कुरा भयो, गत चैतमा त सुख्खा पहिराले नै काछवासीलाई तर्साएको छ ।
‘तालु पोल्ने चर्को घाम लाग्दै गरेको गर्मीयाममा गत चैतमा पहिरो झयो चैत ९ गते बिहानीपख बर्दिबास–११ तीनतलेमा गएको पहिरो सम्झँदै बर्दिबास–१० र ११ का काछबासी भन्छन्, ‘अब यो ठाउँमा हाम्रा गरी खाने दिन सकिएछन् क्या र !’ हपहपी गर्मी याममा गएको पहिरोले त्यहाँका बासिन्दालाई अझै झस्काउँदैछ ।
‘विपत्तिको खास मौसम हुँदोरहेनछ हजुर, न झरी न बर्खा याम, गत चैतको पहिराले हामी एक महिनाजसो घरमै थुनियौँ’ पहिराले खयरमारा खोलाको बाटो थुनिएपछि एक महिनाजति कतै निस्कन नपाएको विगतको सम्झना दोभानकी सञ्चमाया तामाङलाई ताजै रहेको छ ।
उत्तरमा सिन्धुलीसँग साँध जोडिने महोत्तरीको बर्दिबास नगरपालिका मात्र पर्दछ । बर्दिबासका वडा नं ३, ४, ५, १० र ११ का चुरे काछमा ४० को हाराहारीमा बस्ती छन् । ठाउँठाउँमा मिश्रित जाति र समुदायको बसोबास भएपनि काछबस्तीमा अधिकांश तामाङ जाति समुदायको बसोबास छ । बजार क्षेत्रबाट २५ किलोमिटरसम्मको दूरीमा रहेका उक्त बस्तीका बासिन्दा बर्खाभरिको सामल, नुन, तेल पहिले नै जोहो गरेर राख्छन् ।
पर्साही धाप, रजबास, राइमण्डल, भब्सी वडा नं ३ का काछबस्ती हुन् । यसैगरी वरडाँडा, चेरु शिरान, छोड्के, टुटेश्वर, शिर, बम्जनटार, पूर्वखोला, झ्याउरे, भाङ्रे, आँपडाँडा, सातदिने, भालुजोरा, गर्दीदोभान र ठोड्केसहित मुख्य बस्ती वडा नं ४, ५, १० र ११ मा छन् । जिल्लाको सुदूरउत्तरी काछवासीले भोग्दै आएका यी पीडाजस्तै मध्य र दक्षिणी क्षेत्रका सर्वसाधारणले पनि कटान र डुबान भोग्दै आएका हुन ।
जिल्लाका बर्दिबास, भङ्गाहा, गौशाला र औरही नगरपालिका क्षेत्रमा कटानको व्यथा छ । बर्सेनि यहाँका उर्वर जग्गा रातु, बडहरी, भब्सी, जङ्घा, मरहा, खयरमारा, ढोलनखोला, टुटेश्वर, गणन्ता र बाँकेलगायत बस्ती बाढीको चपेटामा पर्छन् । त्यसैगरी मध्यवर्ती भेगका लोहारपट्टी, बलवा नगरपालिका एवं पिपरा र महोत्तरी गाउँपालिकाका गरी ४० भन्दाबढी बस्तीले बर्खामा डुबानको समस्या भोग्दै आएका छन् ।
सुदूर दक्षिणीपश्चिमी सम्सी र सोनमा गाउँपालिकाका बस्ती बाँके र मरहा नदीको चपेटामा पर्छन् । यहाँ बर्सेनि दुई-चार घर बाढीले कटान गरेको देख्दै र भोग्दै आइएको सोनमा गाउँपालिकाका अध्यक्ष विश्वेसर यादव बताउनुहुन्छ । त्यसैगरी जिल्ला सदरमुकाम रहेको जलेश्वर नगरपालिका क्षेत्रको त मुख्य समस्या नै बर्सेनिको डुबानको हो ।
सरदरभन्दा अलि बढी पानी पर्यो कि जलेश्वर नपाका–१० भन्दाबढी बस्ती डुबानमा पर्दै आएका छन् । यस्तै सुदूर दक्षिणपूर्वी मटिहानी नगरपालिकाका बस्ती पनि डुबानमा पर्दै आएका छन् । जिल्लाले आमरुपमा भोग्दै आएको यो समस्याको मुख्य चुरो चाहिँ चुरे पर्वत श्रेणीमा र नदी तथा नदी उकास जग्गामा हुँदै आएको निरन्तरको अनियन्त्रित उत्खननले निम्त्याएको विज्ञको ठहर छ ।
चुरे पहाड फुस्रो माटो ढुङ्गाबाट बनेको हुँदा यहाँको एक ठाउँमा खोस्रिनासाथ माटो भत्कनेक्रम बढ्दै जान्छ । विकासका नाउँमा प्राविधिक परीक्षणविना ठूलठूला यान्त्रिक उपकरण लगाएर चुरेक्षेत्रमा बनाइने सडक, बाटाघाटा र कुलो÷नहरले पहिरो जानेक्रम बढेको जिल्लाकै भङ्गाहा–७ का बासिन्दा तथा चुरे विज्ञ डा विजयकुमार सिंह बताउनुहुन्छ ।
त्यसरी नै पहाडी थुम्का, पाखा, नदी र नदीउकास क्षेत्रमा अनियन्त्रित तवरले उत्खनन गरेर बालुढुङ्गा निकालिने क्रमले नदीको सतह फराकिलो हुने र उचोनिचो हुने हुँदा पहिरोसँगै कटान र डुबानको समस्या बढाएको उहाँको भनाइ रहेको छ ।
‘जथाभावी पाखा खोस्रने र नदीमा ठूलठूला उपकरणले उत्खनन् गरेर विकास देखाउने होडबाजी छ’, डा सिंह भन्नुहुन्छ, ‘यही होडबाजीले अस्वभाविक वर्षा, बाढी, पहिरो र कटान-डुबान समस्या बढेका हुन् ।’ सबैभन्दा मुख्य पक्ष त स्थानीय तहले उत्खनन कार्यलाई व्यवस्थित र वैज्ञानिक नबनाएसम्म यो समस्या नघट्ने उहाँको तर्क छ ।
जिल्लामा सबैभन्दा उधुम मच्चाउँदै आएको रातु नदी र रातुउकास जग्गामै बढी उत्खनन हुने गरेको छ । रातुका तीन भंगालालाई तटबन्धले एउटै धार बनाइए पनि पछिल्ला दिनमा तटबन्धकै जगमा गरिएका उत्खननले बाँध भत्काएर बाढीले कैयौँ बस्ती तहसनहस पारेको थियो । निर्माण भएको तटबन्धको जगसमेत क्रसर सञ्चालकले उधिन्न नछाडेका बर्दिबास–७ का समाजसेव धर्मानन्द काफ्लेको गुनासो रहेको छ ।
त्यसैगरी तटबन्ध गरेर नदीको धार एउटै बनाइएपछि नदीउकास बनेका पहिलेका दुई भगाला क्षेत्रमा अजङअजङ्का खाल्डा खनेर बालुढुङ्गा निकालिने क्रम जारी छ । यसरी नदीउकास क्षेत्रमा क्रसर सञ्चालकले बनाएका ठूलठूला खाल्डामा जमेको पानीमा डुबेर बर्सेनि मानवीय क्षति हुने गरे ।
पछिल्ला पाँच वर्षभित्र क्रसर सञ्चालकले बनाएका खाल्डामा डुबेर बर्दिबासमै पाँच जनाको मृत्यु भइसकेको छ । जिल्लामा बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्र उत्खननका उर्वर क्षेत्र हुन् ।
यी तीन स्थानीय तहसम्मको बालुवा र ढुङ्गा माटो नमिसिएको पाइने हुँदा क्रसर सञ्चालकले यी तीनवटै नगरक्षेत्रका नदी र नदीउकास क्षेत्रमा क्रसर उद्योग सञ्चालन गर्दै आएका छन् ।
यी तीन स्थानीय तहबाट तलतिर नदीमा माटोको भाग बढ्दै गएपछि निर्माण कार्यमा प्रयोग गरिने गुणस्तरीय बालुवा रहँदैन । ढुङ्गा त तल्लो भेगमा हुँदै हुदैनन । तीनवटै नगरपालिकामा वैध र अवैधरुपमा सञ्चालन गरिएका क्रसर अहिले ५० भन्दा माथि छन् ।
पाखा पर्वत, नदी र नदीउकास क्षेत्रमा भइरहेको उत्खननलाई नियमन गरिने प्रतिबद्धता बर्दिबासका नगरप्रमुख प्रह्लाद क्षत्रीले जनाउँदै आउनुभएको छ तर यी काममा स्थानीय तहका प्रयत्न जनताले देख्नेगरी हुन नसकेका बर्दिबास–२ का वडाध्यक्ष श्यामराजा सिंह स्वीकार गर्नुहुन्छ ।
‘हामीले उत्खनन कार्य व्यवस्थित गर्ने दिशामा परिणाम देखिने गरी काम गर्न सकेका छैनौँ’, उहाँ भन्नुहुन्छ,’अब यसलाई प्राथमिक महत्वका साथ अघि बढाइन पर्छ ।’ धेरैजसो क्रसर उद्योग नियमअनुसार दर्ता नगरी अवैधरुपमै सञ्चालन गरिएका छन् ।
दर्ता गरिएका उद्योगको पनि नियमित अनुगमन नगरी कार्यालय कक्षमै हचुवा तवरले नवीकरण हुने गरेका बर्दिबास–९ पशुपतिनगरका सुरेन्द्र कुशवाहा बताउनुहुन्छ । जिल्लामा चुरे क्षेत्रका खोल्साखोल्सी व्यवस्थापन, सघन वृक्षरोपण, अनियन्त्रित उत्खनन नियन्त्रण र पर्वत श्रेणीबाट निस्केर भारतीय सीमा पार गर्ने सबै नदीमा दुईतर्फ तटबन्ध गर्नसके यो समस्याको स्थायी समाधान हुने डा सिंहको कथन छ ।
यसबाहेक बनेका तटबन्ध, सडक र कुलो नहरजस्ता पूर्वाधारको नियमित मर्मतसम्भारमा सङ्घीय र प्रादेशिक सरकारको तत्परता कम देखिँदा बर्सेनि क्षति बढ्ने गरेको छ । ‘कुनै काम सम्पन्न गरिने गरी योजनामा रकम विनियोजन हुँदैनन्, धेरै योजनामा रकम छर्ने काम बढी हुँदै आएको छ’, भङ्गाहा–५ का बासिन्दा नेपाल सरकारका सेवानिवृत्त सहसचिव रामबहादुर भुजेल भन्नुहुन्छ, ‘योजना छनोट र रकम विनियोजन पनि वैज्ञानिक हुनपर्छ, झारा टार्ने होइन ।’ नीय इञ्जिनीयर शिवदेव साह बताउनुहुन्छ ।

