नेपाल – सांसद डा विमला राई पौडेलले नेपालको १५ वर्षमाथि र ६५ वर्षमुनिका जनसङ्ख्यालाई उपयोगमा ल्याउने नीति बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रियसभाको आजको विशेष समयमा उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भए पनि उक्त मन्त्रालयले नेपालको जनसङ्ख्याको विषयलाई प्राथमिकता दिन नसकेकामा ध्यानाकर्षण गराउँदै मानव स्रोत योजना नामक छुटै मन्त्रालय बनाउन जरुरी भएको बताउनुभएको होे ।
‘नेपालको मानव स्रोत भनेको निकै महत्वपूर्ण हो, अहिले युवाको जनसङ्ख्या नेपालमा धेरै देखिएको छ’– सांसद पौडेलले भन्नुभयो, ‘नेपालमा १५ वर्ष माथि ६५ वर्षमुनिका जनसङ्ख्या धेरै हुनु असाध्यै राम्रो हो र यसलाई उपयोग गर्न सरकारले छुट्टै योजना बनाउनुपर्छ ।’
जनसङ्ख्या बढ्यो भनेर दुःख मान्ने विषय नभएको उल्लेख गर्दै उहाँले जनसङ्ख्या हुनु देशका लागि अवसरको विषय भएको र जनसङ्ख्याको उपयोग गर्नका लागि सरकारको नीति र योजना जरुरी भएकामा जोड दिनुभएको हो ।
‘युवा जनशक्ति देशमा हुनु राम्रो अवसर हो, विश्वका अन्य देशमा पनि युवा जनशक्ति भएका बेलामा धेरै विकास भएको देखिएको छ’–सांसद पौडेलले भन्नुभयो, ‘अहिले युवाको राम्रो सङ्ख्या देखिएको छ, सरकारले यिनको महत्व बुझन जरुरी छ ।’
सांसद दुर्गा गुरुङले देश सुन्दर भए पनि सरसफाइलाई ध्यान नदिँदा फोहर सहरको रुपमा पहिचान बनाउँदै गएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले राजनीति पनि फोहोरी खेलजस्तै भएको र देशको सरसफाइमा पनि ध्यान जान नसकेको बताउनुभएको छ ।
सांसद बिना पोखरेलले दलित समुदायले मुलुकको विकास र परिवर्तमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि समाजबाट दुव्यर्वहार र छुवाछुत न्यूनीकरण हुन नसकेकामा चिन्ता व्यक्त गर्र्नुभएको हो ।
‘दलित समुदायमाथि दुव्र्यवहार दण्डनीय छ, त्यसलाई कानुनी दायरमा ल्याउनुपर्छ’–उहाँले भन्नुभएको छ , ‘अधिकार र सम्मान व्यवहार दलित समुदायमा एकताबाट मात्र सम्भव छ, पाठ्यक्रम, धर्म र संस्कृतिले अन्धविश्वासलाई हटाउनुपर्छ, सबै समान हुन भन्ने शिक्षा प्राथमिक तहबाटै दिइनुपर्दछ ।’
सेतु विकको सालिक तोडिएको, इनारबाट पानी निकाल्दा दुव्र्यवहार गरिएको, दलितलाई कोठाभाडा नदिइएको र दलित समुदाय आफैभित्र पनि छुत तथा अछुतजस्ता विभेद हुन दुःखत भएको उल्लेख गर्दै सांसद पोखरेलले त्यसको अन्त्यका लागि दलितभित्रै पनि अभियान सञ्चालन गर्नु जरुरी भएको बताउनुभएको छ ।

