रसुवा – सेवाग्राहीको चापलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालयले आज बिहानैदेखि सरकारी सेवा सञ्चालन गरेको छ ।
एक सूचनामार्फत सर्वसाधारणसामु जानकारी गराउँदै नेपाली नागरिकता, राहदानी एवं राष्ट्रिय परिचयपत्रलगायत प्रमुख जिल्ला अधिकारीले सम्पादन गर्ने सबैखाले सरकारी सेवा आउँदो साउन ९ गतेसम्म दैनिकरूपले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको हो ।
एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरले रसुवावासीका लागि साउन १० गतेसम्म शेयर वितरण गर्ने आह्वान पत्र जारी गरिसकेको अवस्थामा शेयर फाराम भर्ने वातावरणको सहजीकरण कार्यअन्तर्गत नेपाली नागरिकता प्रदानलाई प्राथमिकतामा राखी कार्यालयभन्दा अतिरिक्त समयमा समेत सेवा सञ्चालन गरिएको हो
नयाँ एवं प्रतिलिपि नेपाली नागरिकता लिने सेवाग्राहीको सङ्ख्या दैनिक ६० जनाभन्दा बढीको भिड लाग्न थालेपछि प्रमुख जिल्ला अधिकारी नवराज जैसीले कार्यालयको समयभन्दा अतिरिक्त समयमा समेत सेवा सञ्चालन गराएको जनाए ।
हिमाली जिल्ला वर्षाको याम, खेतीपातीको समयलाई ध्यानमा राखी प्रजिअले आजको आजै दिएको सेवा जनहितकारी भएको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् । प्रक्रिया पूरा भई पेश भएका आवेदनको काम आजको आजै सम्पादन हुँदै आएको र सेवा लिनका लागि हाल दैनिक ६०-७० जना आउने गरेको सहायक प्रजिअ दयाराम पौडेलले बताउनुभएको छ ।
नेपाली नागरिकताका साथै राहदानी लिन चाहनेलाई राहदानी अनलाइन फाराम भराउने र राष्ट्रिय परिचयपत्रसमेत प्रदान गर्ने काम भइरहेको पौडेलले बताउनुभयो । यस्तै रसुवागढी हाइड्रोपावरले रसुवावासीका लागि खुला गरेको शेयर बिहीबारसम्ममा ३१ लाख कित्ता खपत भइसकेको जनाए ।

