गुनासो चौतारी काठमाडौं। नेकपा दाहाल-नेपाल समूहकी अध्यक्ष रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको अन्त्यको बेला आएको बताएकी छन्। उनलाई पक्राउ गर्न प्रहरी शंखमुलस्थित उनको घरमा पुगेपछि झाँक्रीले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै राज्यले चाह्यो भने जे पनि गर्नसक्ने अवस्था सिर्जना भएको भन्दै विरोध जनाइन्। प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरे पनि समर्थकको नाराबाजीका कारण सकिरहेको छैन। उनी घरभित्रै छिन्।
प्रहरी उनको घर पुगेपछि समर्थकले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए। झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिबारे बुझ्न महानगरीय अपराध महाशाखाले उनलाई बिहान १० बजे बोलाएको थियो। ‘ुतपाईंहरुलाई थाहै छ नि! राष्ट्रपतिको भूमिकाप्रति कोही पनि सन्तुष्ट छैनन्। कानुनले नगर्नु भनेका बाहेक सबै काम गर्नुभएको छ उहाँले!’ उनले भनिन्, ‘हामी गणतान्त्रिक व्यवस्थाको पक्षमा छौँ । राजतन्त्रकालिन भद्दा अभ्यास गर्न लाग्दा मैले बोलेकी हुँ, बोलिरहन्छु।’
उनले गणतन्त्रको प्रतीकहरुले राजतन्त्रकालिन भद्दा अभ्यास गरेको आरोप लगाइन्। ‘गणतन्त्रका प्रतीकले राजतन्त्रकालीन अभ्यास गरे, त्यसैको परिणाम हो अहिलेको घटना’, उनले अगाडि भनिन्, ‘युरोप अमेरिकाका राष्ट्रप्रमुखहरुको पनि त्यो खालको वैभव छैन। प्रधानमन्त्रीको एसिस्टेन्ट या मतियारका रुपमा राष्ट्रपतिले भूमिका खेलिन्। त्यही भएर विरोधमा उत्रिनुपरेको हो।’
पक्राउ पुर्जी ल्याउनु
झाँक्रीले आफूलाई अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले फोन गरेर कार्यालयमा बोलाएको बताइन्। ‘राज्यले नागरिकलाई नियन्त्रणमा लिन सक्छ। बिनाकारण २४ घण्टासम्म थुन्न सक्छ’, उनले भनिन्, ‘तर प्रहरी पक्राउ पुर्जीसहित आउनुपर्छ। अब यसरी आइदिनुहोला भनेको भरमा मैले जाने कुरा हुँदैन।’
झाँक्रीले ओली र भण्डारीको प्वाँख पलाएको बताइन्। ‘तानाशाहहरु ढल्नेबेला यस्तै हुन्छ, प्वाँख पलाउँछ यो त्यही भएको हो’, उनले थपिन्, ‘प्रधानमन्त्रीले प्रतिगमन गर्नुभयो । त्यसको मतियार राष्ट्रपति हुनुभयो भनेर त हामी सडकमा लडिरहेका छौँ नि, मैले बोलेको कुरा सानो कुरा हो । यसलाई ठूलो मुद्दा बनाइयो।’ आफ्नो घर बाहिर प्रहरी आउँदा यो व्यवस्था नै खोसिएको जस्तो लागेको झाँक्रीले बताइन्। ‘प्रहरी मेरो घर बाहिर आउँदा यो व्यवस्था खोसिसकेको हो की भन्ने लाग्यो’, उनले भनिन्, ‘यदि पक्राउ पुर्जीसहित प्रहरी आएछ भने म जान तयार छु।’
पक्राउ पुर्जी नदिए पनि प्रहरी आफ्नो घरमा आएको उनले बताइन्। ‘पक्राउ पुर्जी आएको छैन तर मेरो घर बाहिर प्रहरी आएको जानकारी छ’, उनले भनिन्, ‘औपचारिक रुपमा यहाँ प्रहरी आउनुभएको मलाई थाहा छैन।’
उनले आफूसँगको विषयलाई राजनीति मुद्दा भनिन्, ‘यो राजनीतिक मुद्दा हो। म माथि भइरहेको यो प्रयास यो लोकतन्त्रको उपहास हो’, उनले थपिन्, ‘नागरिकको ट्याक्सबाट तलब खानेहरु बढी उत्तरदायी हुनुपर्ने होइन र?’

