प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि पक्ष-विपक्षमा सामाजिक सञ्जालहरूमा पनि फरक-फरक धारणा व्यक्त भइरहेका छन्। सोमवार एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कैयौँ कारणले आफूमाथि प्रहार केन्द्रित रहेको दाबी गरे। अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरेको र नेकपाको प्रचण्ड-माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताइरहेको पृष्ठभूमिमा ओलीको पछिल्लो अभिव्यक्ति आएको हो।
प्रधानमन्त्री ओलीले सोमवार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए।
त्यस क्रममा उनले आफूमाथि प्रहार केन्द्रित हुनुको एउटा कारण मात्रै नरहेको उल्लेख गरे।प्रतिनिधिसभा पुनर्स्थापनाको आदेशपछि यस्तो छ सुरक्षा तयारी
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतद्वारा बदर
उनले भने, “नेतृत्वमा म भएको हुनाले, यस पार्टीलाई ठिक ढङ्गले अगाडि बढाइराखेको हुनाले, सरकार ठिक ढङ्गले सञ्चालन गरिरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढङ्गले अगाडि बढिरहेको हुनाले, विकास निर्माणका कामले गति लिइरहेका हुनाले ममाथि प्रहार केन्द्रित छ।”आफूमाथि प्रहार “अत्यन्तै तीव्र गति”ले केन्द्रित रहेको पनि प्रधानमन्त्रीले दाबी गरे।
“यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तल-माथि भइहाल्यो भने पनि तपाईँहरूले अनौठो नमान्नुहोला। तर यस्तो हुन दिइनेछैन, हामी सतर्कता अपनाउनेछौँ।”आफू नरहे पनि केही नहुने भन्दै प्रधानमन्त्री ओलीले अगाडि थपे, “आन्दोलन छ, पार्टी छ। यस आन्दोलनले प्रतिक्रियावादी तत्त्व र तिनका मतियारसामु घुँडा टेक्नु हुँदैन।देशको भविष्य अन्धकारमा जान दिनु हुँदैन। देश बनाउने पार्टीको भविष्यलाई अन्धकारमा जान दिनु हुँदैन। यस पार्टीलाई तल-माथि हुन दिनु हुँदैन।”
सुरक्षाविद् के भन्छन्?
सुरक्षा मामिलाका जानकारहरूले प्रधानमन्त्रीको अभिव्यक्ति “अस्वाभाविक” भएको प्रतिक्रिया दिएका छन्।
पछिल्लो समय नेकपाका दुई समूहका नेताले एकअर्कामाथि राजनीतिक प्रहार गरिरहेको अवस्था भए पनि भौतिक प्रहारको स्थिति नरहेको सुरक्षाविद् गेजा शर्मा वाग्लेको ठम्याइ छ।

