काठमाडौं  –   गत वर्षको तुलनामा वैशाखमा बैंकको निक्षेप संकलन घटेको छ। पहिलो र दोस्रो सातामा २२ अर्बले घटेको निक्षेप समग्रमा चैत्रको तुलनामा १६ अर्बले घटेको हो।

यद्यपि वैशाखको अन्तिम साता भने ६ अर्बले सुधार भएको नेपाल बैंकर्स संघले सोमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको  छ।

यसरी मासिक निक्षेप वृद्धि घट्दा वाणिज्य बैंकको कुल निक्षेप ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। त्यसमा विदेशी मुद्राको निक्षेप १ खर्ब १० अर्ब रुपैयाँ  रहेको छ।  गत चैत्र मसान्तमा कुल निक्षेप ४३ खर्ब ८९ अर्ब रुपैयाँ संकलन भएको थियो।

यसअघिका वैशाखमा सधैं निक्षेप संकलन वृद्धि हुने गरेको थियो। २०७७/०७८ वैशाखमा मात्रै मासिक निक्षेप ११ अर्ब रुपैयाँ वृद्धि भएर ३९ खर्ब ५५ अर्ब पुगेको थियो।

२०७६/०७७ वैशाखमा २५ अर्बले वृद्धि भई कुल ३२ खर्ब १४ अर्ब थियो। यद्यपि यसवर्ष स्थानीय चुनावका कारण पनि बैंकिङ प्रणालीको निक्षेप घटेको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय बताउँछन्।

उपाध्यायका अनुसार विगतमा यही अवधिमा निक्षेप बढेको थियो। ‘तर यो वैशाखमा निक्षेप वृद्धि १६ अर्ब रुपैयाँले कम  रहेको छ।  चुनावमा पनि पैसा गयो। यसलाई स्वाभाविक रूपमा लिएका छौं,’ उनले भने।

चुनावपछि बैंकिङ प्रणालीमा निक्षेप बढ्न सक्ने उपाध्यायले बताएको छ । भने, ‘चुनावपछि केही सुधार होला। अहिले सामान्य अवस्थाभन्दा पनि व्यावसायिक तथातरलता अभाव रहेको  छ।’

सर्वसाधारणसँग कति पैसा छ? कतिले प्रणालीमा ल्याउँछन्? वा प्रणालीभन्दा बाहिर राख्छन् भन्नेले पनि अर्थ राख्ने उनको भनाइ  रहेको छ।  औपचारिक र अनौपचारिक माध्यमको कारोबार कत्तिको छ भन्नेमा निर्भर हुने उनको तर्क रहेको छ।

आयातीत वस्तु र राजस्व भुक्तानीका कारण पनि बैंकको निक्षेप घटेको संघका पूर्वअध्यक्ष भुवन दाहालले बताए। हरेक स्थानीय तहमा बैंकको उपस्थिति भएकाले सर्वसाधारणले घरमा भन्दा बैंकमै पैसा जम्मा गर्ने उनको भनाइ रहेको  छ।

बैंकिङ प्रणालीमा चुनावको आसपासमा केही निक्षेप बाहिरिनु स्वाभाविक ठान्छन्। ‘अघिल्लो पटक चुनाव हुँदा पनि निक्षेप केही घटेकै थियो। बैंकले हरेक महिनाको अन्तिम साता निक्षेप बढाउने काम पनि गर्छन्। किनभने ब्याज पुँजीकरण पनि हुदा बढ्ने गर्छ,’ उनले भने।

चालू आवको सुरुआतबाटै वाणिज्य बैंकले खासै निक्षेप बढाउन सकेका छैनन्। समग्रमा निक्षेपको तुलनामा कर्जा प्रवाह भने बढेको छ। तर चैत्र मसान्तको तुलनामा वैशाखमा कर्जा प्रवाह पनि चार अर्बले घटेको छ। हालसम्म वाणिज्य बैंकबाट कुल ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको संघको तथ्यांक  रहेको छ।

सीडी अनुपात सीमाभित्र ल्याइने

कर्जा प्रवाह भने ४ खर्ब ७२ अर्ब रुपैयाँले बढेको छ। स्रोत संकलनका तुलनामा लगानीको माग ह्वात्तै बढ्दा समग्र बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभावको स्थिति कायमै  रहने छ। निक्षेप र कर्जाको असन्तुलनले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)  नियन्त्रणमा छैन।

संघको तथ्यांकअनुसार २७ वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) औसत ९०.८० प्रतिशत रहेको  छ। तर अधिकांश बैंकले असार मसान्तसम्ममा ९० प्रतिशतको सीमामा ल्याउनु पर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com