बेरोजगार युवाको मौन चासो : देश नजलोस्, युवा नमरोस्

देश फेरि निर्वाचनमा हुमिएको  छ। राजनीतिक दलहरूका झण्डा, नाराबाजी, आश्वासन र भाषणले सहर गाउँ भरिएको छ। तर यही भीडभाडको बीचमा एक ठूलो समूह मौन छ बेरोजगार युवा। उनीहरूका लागि निर्वाचन उत्सव होइन, न त उत्सुकता नै हो। उनीहरूका लागि यो केवल फेरि दोहोरिएको राजनीतिक कर्मकाण्ड हो, जसले जीवनमा कुनै परिवर्तन ल्याउने आशा धेरैअघि मरेको छ।

देशमा बढ्दो राजनीतिक अस्थिरता, अराजकता, भ्रष्टाचार, व्यथिति र विसंगतिले युवालाई निराश बनाएको छ। रोजगारीको अभावले लाखौं युवा जन्मभूमि छाडेर विदेशिन बाध्य छन्। गाउँ खाली छन्, आमाबुबा आँखा बाटोमा टोलाइरहेका छन्, र युवा आफ्नो सपना होइन दैनिकी बोकेर विदेशको पसिनामा हराइरहेका छन्। यही यथार्थले युवालाई निर्वाचन र राजनीतिप्रति उदासीन बनाएको हो।

आजको युवा राजनीतिक भाषण सुन्दैन, घोषणापत्र पढ्दैन। किनकि उनीहरूले वर्षौंदेखि एउटै कुरा सुन्दै आएका छन्रो जगार दिन्छौं, देश बनाउँछौं, भविष्य उज्यालो बनाउँछौं। तर सत्ता पुरानाले होस् वा नयाँले, अनुभूति एउटै छ झुटो आश्वासन। परिणाम शून्य।

युवाहरूलाई अब विकासको ठूला सपना देखाइनु पर्दैन। पुल, सडक र भवनका पोस्टरले उनीहरूको पेट भरिँदैन। उनीहरूलाई सत्ता होइन, अवसर चाहिएको हो। तर त्यो अवसर देशमै नपाएपछि उनीहरूलाई राजनीतिमा चासो कसरी रहोस्?

आज बेरोजगार युवाको चासो एउटै कुरामा सीमित छ
देश नजलोस्।
अराजकताले समाज नडुबाओस्।
राजनीतिक द्वन्द्वमा युवा नमरून्।
र भविष्य फेरि रगत र आँसुले लेखिन नपरोस्।

यही हो आजको युवाको न्यूनतम अपेक्षा। उनीहरूलाई सिंहासनको खेलमा कुनै रुचि छैन। उनीहरूलाई केवल शान्ति चाहिएको छ—आफ्नो श्रम बेच्न पाउने शान्ति, आफ्नै देशमा बाँच्न पाउने शान्ति।

निर्वाचन नेताहरूको लागि सत्ता पुग्ने बाटो हुन सक्छ, तर बेरोजगार युवाका लागि यो कुनै उत्सव होइन। जबसम्म राजनीतिले युवाको जीवन छुन्दैन, तबसम्म युवाले राजनीतिलाई चिन्न छाडिसकेका छन्।
आज युवाहरू भोट होइन, भरोसा खोजिरहेका छन्जु न अझै कतै देखिएको छैन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com