काठमाडौँ । नेकपा (एमाले)को ऐतिहासिक ११औँ महाधिवेशनबाट पृथ्वीसुब्बा गुरुङ उपाध्यक्ष पदमा सर्वाधिक मतसहित विजयी भएका छन् । विजयी भएसँगै गुरुङले महाधिवेशन प्रतिनिधि, नेतागण तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै यसलाई व्यक्तिगत विजयभन्दा पनि पार्टी र जनताप्रतिको ठूलो विश्वासका रूपमा लिएको बताएका छन्।
नवनिर्वाचित उपाध्यक्ष गुरुङले आफूलाई प्राप्त भारी मतलाई ‘अग्लो भरोसा’को प्रतीक भन्दै कार्यकर्ताको विश्वासलाई रत्तीभर पनि डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले वर्तमान राजनीतिक परिवेशलाई संवेदनशील ठहर गर्दै युवामा बढ्दो निराशा र समाजमा नयाँ विकल्पको खोजी भइरहेको अवस्थामा यो मतले पार्टीलाई अझ गतिशील, जनमुखी र समसामयिक बनाउन खबरदारी गरेको उल्लेख गरे।
‘राजनीतिप्रति वितृष्णा बढिरहेको यो समयमा प्राप्त समर्थनले मलाई थप जिम्मेवार बनाएको छ,’ गुरुङले प्रतिक्रिया दिए।
उनले अब आफ्नो सम्पूर्ण ध्यान पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्दै देशको समृद्धि र जनताको खुसीसँग जोड्न केन्द्रित हुने स्पष्ट पारे। विजयको उल्लासलाई कर्तव्यको कठोर परीक्षा ठानेको उल्लेख गर्दै उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।

