२० वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट प्रतिबद्धता र आश्वासनले निजी क्षेत्रको खस्किएको आत्मविश्वास पुनःस्थापित हुने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रको लगानी विस्तार र व्यावसायिक सक्रियता बढाउन राज्य तथा राजनीतिक दलहरूको सहयोग अपरिहार्य रहेको बताए।
उनका अनुसार रोजगारी सिर्जना, राजश्व वृद्धि र पूर्वाधार विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ। नेतृत्वबाट आएको सकारात्मक सन्देशले उद्योगी–व्यवसायीमा नयाँ ऊर्जा र उत्साह थप्ने उनले उल्लेख गरे।
परम्परागत पद्धतिमा सुधार गर्ने क्रममा केही अन्योल देखिए पनि निजी क्षेत्रलाई साथ दिने र वाचापत्रअनुसार अघि बढ्ने राजनीतिक प्रतिबद्धता सराहनीय रहेको उनले बताए।
उनले भने, “पछिल्लो समय निजी क्षेत्रको आत्मविश्वास कमजोर बन्दै गएको अवस्थामा राजनीतिक नेतृत्वको स्पष्ट धारणा र प्रतिबद्धताले सकारात्मक सन्देश दिएको छ। यसले लगानी विस्तार, व्यावसायिक गतिविधि वृद्धि र समृद्ध नेपालको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउनेछ।”
अध्यक्ष ढकालले निजी क्षेत्र र राज्यबीचको सहकार्यबिना दिगो आर्थिक समृद्धि सम्भव नहुनेमा जोड दिँदै यस्तो सहकार्य अझ सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्।

