गुनासो चौतारी
काठमाडौं, १८ वैशाख काठमाडौंको बल्खु क्षेत्रमा आज खाली गरिएको सुकुम्बासी बस्ती नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहान आफ्नै घर भत्किएको दृश्य सहन नसक्ने भन्दै घरबाट निस्किएका ती व्यक्ति दिउँसो बल्खु खोलामा मृत भेटिएका हुन्।
मृतक ६१ वर्षीय ईन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राईले पुष्टि गरेकी छन्। उनका अनुसार, “बिहान घर भत्किएपछि उहाँ एक्लै बर्बराउँदै ‘यो देख्न सक्दिनँ’ भन्दै निस्किनुभएको थियो, तर केही घण्टामै यस्तो अवस्थामा भेटिनुभयो।”
घटनास्थलमा अहिले उनकी पत्नी सरिता र उनका छोरा उपस्थित छन्। स्थानीयका अनुसार राई परिवार विगत १६/१७ वर्षदेखि बल्खुको सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका थिए। ईन्द्रबहादुर राई बल्खुस्थित तरकारी बजारमा मजदुरी गर्दै आएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंले भने मृतकको पहिचान र मृत्युको कारणबारे आधिकारिक रूपमा केही खुलाएको छैन। प्रहरीले परिवारसँग समन्वय गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

