काठमाडौं । व्यवसायी शेखर गोल्छा सर्वोच्च अदालतको आदेशपछि पनि रिहा हुन सकेका छैनन्। सर्वोच्च अदालत ले धितोपत्रसम्बन्धी मुद्दामा धरौटी वा जमानतमा छाड्न आदेश दिए पनि उनीमाथि रहेको अर्को मुद्दाका कारण हिरासतमै राखिएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का अनुसार गोल्छाविरुद्ध धितोपत्र र वीमासम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा अनुसन्धान भइरहेको छ। सोमबार अदालतले धितोपत्र मुद्दामा मात्रै आदेश दिएकोले वीमासम्बन्धी मुद्दा कायम रहँदा उनी तत्काल छुट्न नसकेका हुन्।
सिआईबीका प्रवक्ता एसएसपी शिव श्रेष्ठ ले गोल्छा वीमासम्बन्धी मुद्दामा अनुसन्धानकै सिलसिलामा हिरासतमा रहेको जानकारी दिएका छन्।
यसअघि न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेल को संयुक्त इजलासले गोल्छाकी पत्नी सीमा गोल्छा ले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै धितोपत्रसम्बन्धी मुद्दामा धरौटी वा जमानतमा छाड्न आदेश दिएको थियो।
गोल्छा वैशाख ११ गते पक्राउ परेका थिए। नेपाल धितोपत्र बोर्ड को छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि सिआईबीले उनलाई नियन्त्रणमा लिएको हो।

