सबैलाई पठाउनु होला

काठमाडौं –  मौसम पूर्वानुमान महाशाखाले तीन दिन भारी बर्षा हुने जनाएको छ। शुक्रबार बिहान जारी मौसम बुलेटिनमा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको छ।

पश्चिमी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव र भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको बुलेटिनमा उल्लेख गरिएको छ।

हाल प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भइरहेको छ। शुक्रबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बाग्मती प्रदेश का एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाए ।

आगामी २४ घण्टाका लागि जारी बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

वर्षा नभएका स्थानहरुमा तापक्रम बढ्न सक्ने हुनाले त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’

शनिबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ।

आइतबार देशभर धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com