८ वैशाख, काठमाडौं।
पुरातत्व विभागमा कार्यरत सहायक पथप्रदर्शक (नासु) देउकला अधिकारीको बैंक खातामा चार करोडभन्दा बढी रकम घुसको रूपमा जम्मा भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार, अधिकारीको खातामा ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ घुसबापत जम्मा भएको फेला परेको छ। सो प्रकरणमा पुरातत्व विभागका सिडीई (उपसचिव) पूर्णबहादुर श्रेष्ठ र नासु देउकला अधिकारीलाई प्रतिवादी बनाइएको छ।
अनुसन्धानका क्रममा ‘निर्माण सेवा प्रा.लि.’ नामक कम्पनीले पुरातत्व विभागबाट करिब ६४ करोड २१ लाख रुपैयाँ बराबरका ठेक्का पाएको र ती ठेक्काहरूमा सहजीकरण गरिदिएबापत घुस रकम अधिकारीको खातामा राखिएको अख्तियारको आरोप छ।
अख्तियारले दाबी गरेअनुसार, उक्त घुस रकमबाट नुवाकोटमा करिब १५ रोपनी (तीन कित्ता) जग्गा र काठमाडौंमा साढे तीन आना जग्गा खरिद गरिएको छ। साथै, करिब १०० ग्राम सुन किनिएको, चेकमार्फत रकम साटेर नगद बनाइएको तथा ऋणको रूपमा लगानी गरिएको समेत खुलेको छ।
यस घटनामा उनीहरूमाथि भ्रष्टाचारका साथै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

