रौतहट रौतहटको बौधिमाई नगरपालिकाबाट प्रहरीले अवैध कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, मौवाह ग्राम पञ्चायतका २० वर्षीय सूर्य कुमार दास रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई बौधिमाई नगरपालिका–७ स्थित बंकुलमा रहेको इँटा उद्योग नजिकैबाट सोमबार साँझ करिब ६:३० बजे शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो।
खानतलासीका क्रममा उनले लगाएको पाइन्टभित्र लुकाइ राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ। साथै, उनको साथबाट ओप्पो कम्पनीको एक थान मोबाइल फोन र दुई वटा भारतीय सिम कार्ड पनि फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको छ। सीमा क्षेत्रमा हुन सक्ने अवैध हतियार ओसारपसार नियन्त्रण गर्न प्रहरीले निगरानी र सक्रियता बढाएको जनाएको छ।

