काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीबाट गृहमन्त्री बनेका रमेश लेखकमाथि संसदमा प्रश्न उठाएका छन्।
‘माननीय रमेश लेखक मेरो पछाडि हुनुहुन्थ्यो। चैत १२ गते उहाँले रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जा लिनुभएको छ। त्यसका विरुद्धमा पूरक उजुरी परेको छ। यो प्रमाण हो भन्नुभएको थियो। उहाँ अहिले उता हुनुहुन्छ। यता हुँदा प्रमाण हुने उता पुगेपछि प्रमाण नहुने भन्ने हुँदैन,’ थापाले भने। उनले आफूहरू जस्ता सांसद पनि रहेको भन्दै जता रहे पनि उही कुरा हुने बताए।
थापाले भुटानी शरणार्थी प्रकरणबारे सरकारले दोषी उम्कँदैन भन्ने आश्वस्त पार्नुपर्ने पनि बताए। उनले अघिल्लो सरकारले जहाँ टुंग्याएको छ, त्यसबारे जानकारी गराउनुपर्ने बताए।
‘अघिल्लो सरकारले भुटानी शरणार्थीको विषय जहाँ टुंग्याएको छ। सरकारले प्रष्टसँग भन्नुपर्छ, यति अनुसन्धान भइरहेको छ। यति अभियोजन भएको छ। यति थप अनुसन्धान हुन्छ। अदालतमा विचाराधीन छ। यो विषयमा निर्दोष एउटा पनि छुट्दैन दोषी एउटा पनि उम्कँदैन। यो विषयमा कहीँ तलामाथि हुँदैन भनेर आश्वस्त पार्नुपर्छ,’ थापाले भने।

