काठमाडौँ । सुकुम्बासीको विवरण मागेर स्थानीय निकायलाई पत्राचार गरेको विषयमा नेपाली सेना ले आफ्नो प्रष्टिकरण सार्वजनिक गरेको छ। मनसुनको समयमा हुन सक्ने सम्भावित विपद् घटनामा सुरक्षा फौज परिचालन गरी उद्धार, राहत वितरण तथा पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन यस्तो विवरण मागिएको सेनाको भनाइ छ।
जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘राहत, उद्धार र पुनर्स्थापनालाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिमको नक्साङ्कन गर्न तथ्याङ्क अद्यावधिक गर्ने कार्य गरिएको हो।’
विगतका वर्षहरूमा भएका बाढी, पहिरो र नदी कटानजस्ता विपद् घटनालाई मध्यनजर गर्दै मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारी योजना बनाइरहेको सेनाले जनाएको छ। ‘जोखिमलाई दृष्टिगत गरी सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै विपद् पूर्व तयारीका कार्यक्रम अघि बढाइँदै आएका छन्,’ विज्ञप्तिमा उल्लेख छ।
बर्दिया र उदयपुरलगायत जिल्लामा सुकुम्बासीको विवरण मागिएको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यस विषयमा आलोचना भइरहेको छ।

