गरिबको आवाज कहाँ हरायो?”
काठमाडौं, साउन १६ गुनासो चौतारी।
देशका कुना कन्दरामा पसिना बगाउने सर्वहारा वर्ग, श्रमिक, विपन्न, पिछडिएका समुदायका आवाजहरु सुनिन छाडेका छन्। समाचारका पाना धनीको भोज, नेताको भाषण, र शक्तिशालीका प्रचारले भरिन्छन्, तर झुपडीको दुःख, सडकको संघर्ष, खानीको खरानी र भोकको चित्कार संवादहीन बनेको छ।
नेपालको पत्रकारिता आज सत्यको खोजीभन्दा पनि सम्बन्धको रक्षा गर्न, शक्तिको नजिक हुन र सुविधामा रमाउन अग्रसर देखिन्छ। कलमले गरिबका पिडा होइन, नेताका मुस्कान कोर्छ; श्रमिकका घाउ होइन, दलालका गफ लेख्छ।
भिआईपीको प्रचार, विपन्नको बहिष्कार
एक सर्वसाधारण नागरिकको मृत्यु खबर बन्छैन, तर नेता खोक्दा पनि समाचार बन्छ। त्यो समाचार तीतो हुँदैन, चिल्लो हुन्छ—किनभने त्यो समाचार ‘निकट सम्बन्ध’को रक्षाकवच हो। समाचारको उद्देश्य सत्ताको प्रश्न गर्नु होइन, सत्तासँग ‘सेल्फी’ खिच्नु हो जस्तो देखिन थालेको छ।
पत्रकारिताको पक्षधरता संकट
प्रेस स्वतन्त्र छ भनिन्छ। तर त्यो स्वतन्त्रता झुपडी नपुग्ने, उद्योगमा पसिना बगाउने मजदुरका कराइ नसुन्ने, खेतमा गोडमेल गर्ने किसानको भोक नदेख्ने स्वतन्त्रता जस्तो देखिन्छ। धेरैजसो मिडियामा ‘सत्तानिकट’ पत्रकार हावी छन्। उनीहरू सत्ताका समर्पित हुँदै समाचार लेख्छन् सत्यभन्दा सत्ताको फाइदा हेरेर।
गरिबको सत्य ओझेलमा
छाना चुहाउने घरमा लेख्नेलाई समय छैन, तर एयरकन्डिसनमा बसी चिया खाँदै ‘भिआईपी अन्तर्वार्ता’ लिने समय छ। मिडियाले राष्ट्रिय मुद्दा होइन, ‘नातावाद’ र ‘पार्टीगत हित’ लाई प्राथमिकता दिन थालेको छ।
सञ्चारको उद्देश्य फेरिनु जरुरी
पत्रकारिता लोकतन्त्रको चौथो अंग हो भन्ने नारासँगै यसले सबै वर्गका आवाज बोल्ने जिम्मेवारी लिएको हुन्छ। तर आज त्यो आवाज गुञ्जिनु त परै जाओस्, सुरु हुन पनि छाडेको छ।
अब प्रश्न उठ्छ सञ्चारले कसको पक्ष लिने? शक्तिको कि सत्यको? गरिबको कि गणेशको? यदि पत्रकारिताले फेरि गरिबको पीडा बोल्न सकेन भने, साँचो पत्रकारिता मर्छ, बाँकी रहनेछ केवल प्रचारबाजी।
देशको समसामयिक अवस्थामा जब शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न र बाँच्ने अधिकार जस्ता विषय गरिब जनताको सपना मात्रै बन्न थालेका छन्, पत्रकारिताले यिनै विषयलाई मूल एजेन्डा बनाउनु आजको सबैभन्दा ठूलो आवश्यकता हो।
पत्रकारिता फेरि जनताको हुनुपर्छ। कलम फेरि सत्ताको होइन, पीडितको पक्षमा चल्नुपर्छ। नभए “जनताको आवाज” भन्ने पत्रकारिता, केवल नारा र नाफा को साधन बन्न पुग्नेछ।

