सबैलाई पठाउनु होला

काठमाडौं: गृहमन्त्री सुधन गुरूङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरी संगठनलाई अझ सेवामुखी, प्रविधिमैत्री र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए। निरीक्षणको क्रममा उहाँले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै प्रहरी सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, आर्टिफिसियल इन्टेलिजेन्स तथा एड्भान्स एनालिटिक्स सेल, डाटा सेन्टर र पोलीग्राफ सेक्सनको अवलोकन गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरूङले सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै आएको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा अझ निडर र जिम्मेवार ढंगले काम गर्न निर्देशन दिँदै प्रहरी कार्यमा कुनै हस्तक्षेप हुन नदिने स्पष्ट पार्नुभयो।

उहाँले प्रहरी र नागरिकबीचको दूरी घटाउन शिष्ट व्यवहार, संवेदनशीलता र प्रभावकारी सेवा प्रवाहमा जोड दिनुपर्ने बताउँदै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो। साथै विपद् व्यवस्थापनमा अग्रपंक्तिमा रहने प्रहरीलाई आवश्यक तालिम र स्रोतसाधन उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो।

गृहमन्त्री गुरूङले प्रहरी संगठनको सुदृढीकरण, वैज्ञानिक मूल्यांकन प्रणालीमार्फत वृत्ति विकास तथा प्रविधिमैत्री संरचना निर्माणलाई प्राथमिकतामा राखिने उल्लेख गर्नुभयो।

कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले नेपाल प्रहरीले कठिन परिस्थितिमा पनि प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको उल्लेख गर्दै प्रहरीको व्यावसायिक भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले बदलिँदो परिस्थितिअनुसार कार्यशैली सुधार्दै छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले धन्यवाद ज्ञापन गर्दै संविधान र कानुनको परिधिभित्र रही मानवअधिकारको सम्मान गर्दै प्रहरी सेवा प्रदान भइरहेको बताउनुभयो। उहाँले गृहमन्त्रीबाट प्राप्त निर्देशनले संगठनको मनोबल वृद्धि हुनुका साथै आगामी कार्यसम्पादन अझ परिणाममुखी हुने विश्वास व्यक्त गर्नुभयो।

निरीक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले संगठनको संरचना, जनशक्ति, अपराध अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न प्रहरी इकाइका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल सहभागिता समेत रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com